झापा, माघ १२ । समाजसेवी दीनबन्धु गोयलले झापाको भद्रपुर–६ मा गरिव एवं अतिविपन्न माझी परिवारका लागि १२ वटा घर बनाइदिने भएका छन् ।

गोयलले बनाइदिने घरको शिलान्यास बिहीबार सरस्वती पूजाको अवसर पारेर गरिएको हो ।
भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेलले एक कार्यक्रमका बीच घरको शिलान्यास गरे । समाजसेवी गोयलले आफ्ना दाजु स्व. ओमप्रकाश गोयलको संझनामा घर बनाउन लागेका हुन् ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पोख्रेलले कर्मस्थल मोरङ भए पनि जन्मस्थल झापामा गोयलले गरेको सेवा सबैको लागि उदाहरणीय रहेको बताए । उनले विगतदेखि वर्तमानसम्म गरेको समाजसेवालाई झापाबासीले कहिले पनि नभुल्ने बताए ।

भद्रपुर नगरपालिकाकी उप प्रमुख राधा कार्कीले समाजसेवी गोयलले झापाबासीलाई लगाएको गुण अतुलनीय रहेको बताइन् । उनले दीनदुखी गरिवलाई गरेको सेवा झापाबासीले सदैव उत्कृष्टताका साथ सम्झिरहने बताइन् ।

वडा नं ६ का वडा अध्यक्ष रतिया राजवंशीको अध्यक्षतामा भएको सो कार्यक्रममा भद्रपुर नगरपालिकाका पूर्व नगर प्रमुख जीवनकुमार श्रेष्ठ, दाता प्रतिनिधि विनय गोयललगायतको उपस्थिति रहेको थियो । समाजसेवी गोयलले १२ घर बनाउन आफूले ६० लाख रुपैयाँ सहयोग गर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्