झापा, माघ १९ ।नागरिकता काण्डले मन्त्री र सांसद पद गुमाएका नेपाल स्वतन्त्र पार्टीका रवि लामिछानेले फेरि त्यही शक्तिमा जान देखाएको आशक्तिको तीब्र आलोचना भएको छ ।

उनका शुभचिन्तकसंगै पार्टीका कार्यकर्ताहरुले समेत फेरि गृहमन्त्री बन्ने आशक्ति नदेखाउन रविलाई सुझाएका छन् । छोटो समयमै जनताको भरोसाले नयाँ शक्तिको रुपमा उदाएको स्वतन्त्र पार्टीलाई सकारमा नजान सर्वसाधारणले यसअघि नै सुझाव दिएका थिए । तर, पार्टी उपप्रधानमन्त्रीसहितका पद पाएर सरकारमा गएरै छोड्यो । रास्वपाका झापा जिल्ला सचिव प्रकाश पाठकले आफूहरुको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुनु नेतृत्वबाट भएको प्रारम्भिक गल्ती भएको बताए । उनका अनुसार जनताले रास्वपालाई बलियो प्रतिपक्षका लागि सम्मानजनक मत दिएका थिए , सरकारमा बस्न होईन । ‘नेतृत्वबाट भएको गल्ती सच्याउने अवसर प्राप्त भएको छ ’उनले सामाजिक संजालमा लेखेका छन् यसमा सोचविचार होस् । सत्ताको मोह छाडेर जनतासामु जाऔँ ।’

त्यस्तै पत्रकार विनोद सापकोटाले पनि सेवा सुविधामा नअलमलिन सल्लाह दिएका छन् । ‘मालमा अलमलिने होइन, सरकारमा जानु भनेको माल खानु भन्ने नेपाली जनताले बुझेका छन्। यसलाई चिर्नु परेन ? मन्त्री नहुँदा के हुन्छ ? ’उनले सामाजिक संजालमा लेखेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रविले गृह मन्त्रालयमा फर्कन बालुवाटारदेखि बालकोटको परिक्रमा तीव्र पारेका छन् । दोहोरो राहदानीको विषयमा प्रहरी प्रशासनले उनीमाथि अनुसन्धान पूरा गरेको छैन, तर तालुकवाला मन्त्रालयको नेतृत्वमा पुगेर अनुसन्धान प्रभावित गर्न खोजेको भन्दै गठबन्धनभित्र र बाहिर पनि विरोध भइरहेको छ । तर, सार्वजनिक आलोचनाको वास्तै नगरी शक्तिमा पुग्न उनी आतुर देखिएका छन् ।तर, प्रधानमन्त्री पुष्पकमल दाहाल यो अबस्थामा तत्काल रविलाई फेरि गृह दिइहाल्ने मनस्थितिमा छैनन् । प्रधानमन्त्रीको अडानले रास्वपा सरकारमा रहने कि बाहिरिने भन्ने द्विविधामा देखिन्छ । यसअघि यो पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्