बिर्तामोड, माघ २१ । आदिवासी समुदायको परम्परागत जातीय परिकार भाक्का(भक्का) को व्यवसायलाई प्रवर्द्धन गर्दै राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिइएको छ ।

राजधानी काठमाडौंलगायतका ठाउँमा अन्य जातिले व्यवसायिक रुपमा भाक्का बिक्री गरी आयआर्जन गरिरहँदा परम्परादेखि भाक्का बेच्दै आएका आदिवासी महिलाहरुले जीविकोपार्जन गर्न नसकिरहेकोतर्फ पहल गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका हुन् । बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयको सहयोगमा राजवंशी विकास प्रतिष्ठानले शनिवार बिर्तामोडमा आयोजना गरेको भाक्का व्यवसाय प्रवर्द्धन कार्यक्रमका सहभागी वक्ताहरुले सडकका पेटी र चोकहरुमा भाक्का बेच्दै आएका महिलाहरुलाई व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले गुम्दै गएको स्थानीय जातिको अस्तित्वलाई जोगाउन उनीहरुको जीविकोपार्जनको लागि बिर्ताबजारमा फुडस्टल राख्ने प्रतिवद्धता जनाए । उनले बिर्ताबजारमा बन्न लागेको कम्प्लेक्समा राखिने सो स्टलमा जातीय खाजा र खानाको परिकार रहने जानकारी दिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले स्वस्थबर्द्धक भाक्काको उपयोग मानव स्वास्थ्यका लागि फाइदाजनक भएकाले त्यसलाई बढावा दिनुपर्ने बताए । उनले सडकका पेटीमा भाक्का बेच्ने महिलाहरुलाई व्यवस्थित गर्न आग्रह गरे । आगामी फागुन ५ देखि शुरु हुन लागेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवमा भाक्कालगायतका परिकारको स्टल राख्नसमेत उनले आग्रह गरे ।

राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण बिमली , कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेल ,विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक रुद्र सिटौला , गौरवशाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लवकुमार चौधरीले पनि भाक्का व्यवसायको प्रवर्द्धनमा जोड दिएका थिए । त्यस अवसरमा विगत २५ वर्षदेखि बिर्तामोड ३ सैनिकमोडमा भाक्का व्यवसाय गर्दै आएकी जामुन राजवंशीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य शर्मिला राजवंशी , वडा सदस्यहरु धनसरी राजवंशी , लक्ष्मी रोक्का, वडा सचिव भीम अधिकारी, राजवंशी समाज विकास समितिका लखनलाल राजवंशी, काउन नेपालका सुमन राजवंशीलगायतको सहभागिता रहेको थियो । प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सहसचिव अन्जु तिमिल्सिना राजवंशीले गरेकी थिइन् ।२० जना भाक्का व्यवसायी महिलाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण नगर अस्पताल बिर्तामोडका जनस्वास्थ्य निरीक्षक कृष्ण काफ्लेले गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्