झापा, माघ २७ । उच्च शिक्षासम्म अध्ययन गर्न पुग्नेगरी झापाली समाज युएसएले झापाका ६६ जना विद्यार्थीका लागि लाखौं रुपैयाँको छात्रबृत्ति वर्षेनि प्रदान गर्ने गरेको छ तर, त्यसलाई झापा जिल्ला सहकारी संघले व्यवस्थित गर्न सकिरहेको छैन । झापा जिल्ला सहकारी संघमार्फत ती छात्रबृत्ति वितरण गर्ने गरिएको छ ।

गत वर्षदेखि अमेरिकामा रहेका झापालीहरुको संगठन झापाली समाज युएसएले झापाका ६६ जना विद्यार्थीका लागि प्रतिविद्यार्थी २१ हजारका दरले छात्रबृत्ति उपलव्ध गराउँदै आएको छ । झापा जिल्ला सहकारी संघद्वारा बिहीवार आयोजित छात्रबृत्ति वितरण कार्यक्रममा झापाली समाज युएसएका संस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष मुकुन्द ढुंगानाले आफूहरुले सहयोग उपलब्ध गराएको छात्रबृत्तिलाई व्यवस्थित गर्न नसकिएको गुनासो गरे । उनले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षासम्म अध्ययन गराउने गरी वितरण गर्ने उद्धेश्य राखिएको छात्रबृत्ति लक्षित समूहसम्म पुग्न नसकेको बताए । ‘झापा जिल्ला सहकारी संघले राम्रो तरिकाले यो कार्यक्रम गर्न सक्नुपर्छ ’उनले भने,‘ यो ग्रासरुटसम्म पुग्न सकिरहेको छैन , उत्तरदायीपूर्ण बनाउन सकिरहेको छैन ।’

झापाबाट गएर अमेरिकामा बसोबास गर्ने झापालीहरुले सन् २०१८ मा झापाली समाज युएसए गठन गरेका हुन् । छात्रबृत्ति प्रदान गर्नका लागि समाजले एकमुष्ठ २३ सय डलर दिने गरेको बताउँदै ढुंगानाले छात्रबृत्ति वितरण कार्यक्रमलाई गंभीर भएर अझ व्यवस्थित बनाउन आग्रह गरे । झापाली समाज युएसएले उपलब्ध गराउने रकमबाट विद्यार्थीलाई वर्षको २१ हजार रुपैयाँ दुई किस्तामा प्रदान गर्ने गरिन्छ । समाजले ५० जना विद्यार्थीका लागि छात्रबृत्ति उपलब्ध गराउने गरेको छ भने १६ जना विद्यार्थीलाई जिल्लाका विभिन्न सहकारीहरुले छात्रबृतिको व्यवस्था मिलाउने गरेका छन् । तिनै सहकारी संस्थाहरुले सिफारिस गरेको आधारमा विद्यार्थीहरुले छात्रबृत्ति पाउने गरेका छन् । ६६ जनालाई १३ लाख ८६ हजार रुपैयाँको सो छात्रबृत्ति जिल्लाकै ठूलो भएको बताइन्छ ।

पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. विर्तामोड, अभियान नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अर्जुनधारा, नवोदय बहुउद्देश्यीय सहकारी संस्था.लि. कमल, जयनेपाल बचत तथा ऋण संस्था लि. बिर्तामोड, साना किसान कृषि सहकारी संस्था लि. बुद्धशान्ति, नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. गौरादह, एकता बहुउद्देश्यीय सहकारी संस्था लि. हल्दिवारी, पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., साना किसान कृषि सहकारी संस्था लि. महाभारा, महितकारी वचत तथा ऋण सहकारी संस्था लि. कचनकवल, पथरिया साना किसान कृषि सहकारी संस्था लि., साना किसान सहकारी संस्था लि. भद्रपुर, गणेश बहुउद्देश्यीय सहकारी संस्था लि., आठमौजा बचत तथा ऋण सहकारी संस्था लि. गौरीगञ्ज, जनसेवा बचत तथा ऋण सहकारी संस्था लि., न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था लि. झापा, कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड, स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संसथा लि. ,नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्था लि. दमक र हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले विद्यार्थी छनोट गरी सिफारिस गरेका छन् ।

प्रदेश नं १ का कृषि , उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाले छात्रबृत्ति वितरण गरेका थिए । उनले भरोसायोग्य बनाउनेगरी काम गर्न सहकारी संस्थाहरुलाई आग्रह गरे । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले झापाका १५ वटै पालिकाका विद्यालयहरुलाई छनौट गरी त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको बताउँदै त्यसलाई अझ व्यवस्थित बनाइने प्रतिवद्धता जनाए । उनले आगामी दिनमा विद्यार्थीको पढाइ हेरेर उनीहरुको घरमै पुगेर छात्रबृत्ति वितरण गरिने जानकारी दिए । बिहीवार जिल्लाका ६६ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गर्न आयोजित कार्यक्रममा मात्र ८जना विद्यार्थी सहभागी भएका थिए । बाँकी विद्यार्थीहरुलाई उनीहरु अध्ययनरत विद्यालयकै खाता रकम जम्मा गरिदिने अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्