झापा, फागुन १ । गत साउन २६ मा नीलकण्ठ ढुवानी सेवाको मालबाहक ट्रक बिर्तामोडबाट सोझै काठमाडौंतिर लागेन ।

दमक वरैबाट दक्षिणतिर मोडियो । ना७ख २१९६ नम्बरको ट्रक पाडाजुंगीबाट सीमावर्ती बजार गौरीगन्जतिर हानियो । गौरीगन्जमा सामान लोड गरेर गौरादह-७ स्थित गुवालडुब्बा आइपुग्दा रातिको ८ बजेको थियो । सशस्त्र प्रहरीले शंका लागेर जाँच गर्दा ३३ वटा पोकामा मान्छेको कपाल फेला पर्‍यो । भारतको बिहार राज्यबाट गौरीगञ्ज हुँदै भित्राइएको कपाल काठमाडौं लैजान लागिएको थियो । भारतमा प्रतिकिलो ५ डलरदेखि १ सय डलरसम्म मूल्य पर्ने कपाललाई सशस्त्रले प्रतिकिलो २ हजार ५ सय रुपैयाँ मूल्यांकन गरेर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझायो । कन्टेनर, चालक र कन्टेनरभित्रका अन्य सरसामानलाई ९४ लाख ४८ हजार मूल्यांकन गरी आवश्यक कारबाहीका लागि उक्त कार्यालयलाई बुझाएको हो । यो मुद्दालाई राजस्वले अझै किनारा लगाएको छैन । ‘एक पोकामा ३० किलो हाराहारी कपाल थियो,’ एक सशस्त्र प्रहरीले भने, ‘३३ पोकामा करिब हजार किलो जति कपाल बरामद गरिएको थियो ।’

माघ १९ मा पूर्वबाट पश्चिमतिर जाँदै गरेको एक रात्रि बसभित्र लुकाएको करिब २३ किलो कपाल सशस्त्र प्रहरीले बरामद गर्‍यो । सशस्त्र प्रहरीको अर्जुनधारा बेस क्याम्पका डीएसपी उदय न्यौपानेका अनुसार झापाको चारआली नजिकको कालीझोडा क्षेत्रमा गरिएको जाँचका क्रममा बसको डिकीभित्र कपाल फेला परेको हो । सशस्त्रले उक्त कपाल कसले र किन तस्करी गरिरहेको छ भन्ने ठोस अनुसन्धान गरेन, बरु करिब १ लाख मूल्य कायम गरी मेची भन्सार कार्यालयमा दाखिला गर्‍यो । अन्तरदेशीय संगठित आपराधिक गिरोहले पछिल्लो समय नेपाललाई ‘ट्रान्जिट’ बनाएर मानिसका कपाल चीन तस्करी गर्दै आएको छ । खासमा गत वर्षर्को फागुनमा दक्षिण भारतको आन्ध्र प्रदेशबाट पूर्वोत्तर मिजोरम हुँदै म्यान्मारलाई ‘ट्रान्जिट’ बनाएर कपाल तस्करीको खुलासा भारतको राजस्व गुप्तचर निर्देशनालयले गरेको थियो । गुप्तचरको खुलासापछि प्रवर्तन निर्देशनालयले छापा मारी मिजोरम-म्यान्मारको सीमावर्ती सहर चम्पाईबाट करोडौं मूल्यको ६ हजार किलो कपाल बरामद गरिएको थियो । उक्त कपाल आन्ध्र प्रदेशमा संकलन गरी म्यान्मारको बाटो चीन तस्करी गर्न लागिएको थियो ।

मिजोरम-म्यान्मारको रुटको ‘सेटिङ’ बिग्रिएपछि तस्कर गिरोहले आन्ध्र प्रदेशको तेलाङ्गानाबाट असमको राजधानी गुवाहाटी र पश्चिम बंगाल राजधानी कोलाकाता हुँदै कपाल पूर्वी नाकाबाट नेपाल तस्करी गर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो गिरोहले म्यान्मार, बंगलादेश, नेपाल र भुटानलाई ‘ट्रान्जिट’ बनाएका छन् । गत पुस २२ मा पूर्वोत्तरको मेघालयबाट पनि ३ सय किलो कपाल बरामद गरिएको थियो । मेघालय-बंगलादेशको सीमावर्ती नाका जमदोरबाट सीमा सुरक्षा बलले कपाल बरामद गरेको थियो । अघिल्लो वर्ष यही नाकाबाट २ सय २५ किलो कपाल बरामद भएको मेघालयको सञ्चारमाध्यम ‘द मेघालय डटकम’ ले उल्लेख गरेको छ । भुटानबाट भने कपाल बरामदको खबर बाहिर आएको छैन । तर, नेपालसहित भुटान, बंगलादेश र म्यान्मारलगायतका देशलाई प्रयोग गरेर गिरोहले कपाल चीन तथा ताइवान तस्करी गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनले कपालबाट नक्कली कपाल ‘बिग’ बनाएर विश्वभर बेच्छ । विश्व बजारमा चिनियाँ बिगको आधिपत्य छ । दक्षिण भारतको कतिपय मन्दिरमा श्रद्धालुले कपाल चढाउने चलन छ । आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा दैनिक करिब ५० हजार श्रद्धालुले कपाल चढाउँछन् । उक्त कपाल संकलन गरी चीन तस्करी भएका घटना विभिन्न समय बाहिर आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्