बिर्तामोड , फागुन ५ ।प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहमति र विमतिका आधारमा नभई मतदानबाटै राष्ट्रपति चयन गरिनुपर्ने बताएका छन् ।

यो भए सहमति हुने त्यो भए सहमति नहुने भन्ने निश्चित पार्टी विशेष र निश्चित नेता विशेषले टुंगिने विषय नभएको भन्दै निश्चित मतदाताहरुबीच छलफल र सहमति गरेर राष्ट्रपति चयनलाई टुंग्याउनु पर्ने धारणा राखे ।

प्रेस चौतारी झापाको संयोजनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख घिमिरेले मतदाताहरु कसलाई चाहन्छन् भन्ने विषय उनीहरु आफैले टुंग्याउने बताए । राष्ट्रपति बन्न चाहने व्यक्तिभन्दा पनि व्यक्तिको भूमिकाको विषय सान्दर्भिक भएको बताउँदै उनले देशलाई बुझेको , संविधान बुझेको कार्यान्वयन गर्न सक्ने खाँचो रहेको धारणा व्यक्त गरे । राष्ट्रपतिको निर्वाचनपछि देशले एउटा दिशा लिने उनको भनाई छ ।

सभामुख घिमिरेले संसदमा रहेका दलहरुबाटै अहिलेको शासन व्यवस्थामाथि खतरा बढेर गएको आरोप लगाए । उनले संविधानविपरीत हुने गरी गतिविधि र धारणाहरु संसद् र सडकमा देखिन थालेको टिप्पणी गरे । संविधानले राजतन्त्ररहित व्यवस्था अंगीकार गरेको अवस्थामा सरकारमा रहेको पार्टी नेकपा एमालेकै केन्द्रीय सदस्यले मुलुकमा राजतन्त्र चाहिन्छ भनेर मेची–महाकाली अभियान गरिरहेकोप्रति उनले आपत्ति जनाए । केही दिनअघि एमाले केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा झापाको पूर्वीनाका काँकडभिट्टाबाट मेची–महाकाली अभियान शुरु गरेका थिए ।सभामुख घिमिरेले भने, ‘नेकपा एमालेका केन्द्रीय सदस्य राजतन्त्र चाहिन्छ भनेर मेची–महाकाली अभियानमा युवाहरुलाई लिएर हिँडेका छन् । यसप्रति सरकारको के दृष्टिकोण हो ? पार्टीको के दृष्टिकोण हो ? स्पष्ट हुन जरुरी छ ।’

सभामुख घिमिरेले वर्तमान राजनीतिक परिस्थिति राष्ट्रको लागि संकट उन्मुख रहेको बताए । उनले सरकारमा रहेकै केही पार्टीबाट संघीयताप्रति खतरा बढेको भन्दै चिन्ता व्यक्त गरे । सभामुख घिमिरेले संघीयताको मर्मअनुसार सरकारमा पुग्ने तर सरकारमा पुगेर संघीयताविरुद्ध गतिविधि गरेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्