झापा, फागुन १२ । आगलागीमा परी पाँचथरको हिलिहाङ गाउँपालिका– ७ भारपामा २ जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शरण पन्धाकका ५ वर्षीय छोरा सेसेहाङ पन्धाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खाती छन् ।हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्धाकको घरमा शुक्रबार दिउँसो २ बजे भएको आगलागीमा उनीहरुको ज्यान गएको हो । मृत्यु भएका खाती सोही घरमा बस्दै आएका थिए । छिमेकी शरण पन्धाकका छोरा सेसेहाङको उनीसँग खेल्ने क्रममा आगलागीमा परी मृत्यु भएको हो ।
दिउँसो अभिभावक दाउरा खोज्न जंगल गएका बखत दुई बालक मात्रै रहेको बेलामा घरमा आगो लागेको बताइएको छ । यद्यपि आगो के कसरी लाग्यो खुल्न नसकेको घटनास्थलमै रहेका वडाध्यक्ष धनकुमार लिम्बूले बताए ।
आगोले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । उनीहरुको शव घरको माथिल्लो तलामा जलेर चिन्नै नसक्ने अवस्थामा भेटिएको पनि वडाध्यक्ष लिम्बूको भनाइ छ ।
घटनाबारे जानकारी पाएलगत्तै पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र प्रहरी नायव उपरीक्षक हरि खतिवडा घटनास्थल पुगेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्