बिर्तामोड,फागुन १३ । बिर्तामोडको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा थारु परिकारको स्टल राखेकी ललिता चौधरीले घोङी बिक्री मात्र गर्दिनन् , खान नआउनेलाई उनी सिकाउँछिन् पनि । भन्छिन्–मजस्तै जोडले माया गर्नस् ।


माया अर्थात चुम्बन गरेजस्तै दुईवटा ओठले मिलाएर जोडले नचुसेसम्म घोङीभित्रको गुदी आउँदैन ।घोङी खानको लागि स्वादिष्ट हुन्छ । तर, नयाँ पारखीलाई खाने तरिका आउँदैन । त्यही भएर कन्काई नगरपालिका ४ की ललिता आफैले देखाएर खान सिकाउँछिन् । जोडले माया गर्नु अनि आउँछ भनेर भनिरहँदा कतिपय ग्राहकहरु लजाउँछन् भने कतिपय रमाउँछन् । दुई जना युवा ग्राहकहरुले आफूहरुले विवाह गरेका छैनौं त्यही भएर माया गर्न सिकेका छैनौं सिकाइदिनु न भनेर जिस्काएको उनले सुनाइन् ।

मांसाहारी परिकारभित्र पर्ने घोङी थारु , राजवंशी , धिमाललगायतका जातिले खाने गरेकोमा अहिले अन्य जातिले पनि खान थालेका छन् । बिर्तामोड १ का राजन दाहाल सपरिवार घोङी खान आएका थिए । उनले आफूहरु घोङी खान अभ्यस्त भइसकेको बताए ।शनिवार थारुको सो स्टलमा ग्राहकहरुको निकै भीड लागेको थियो । दिनभरिमा करिव १० हजारसम्म बिक्री हुने गरेको ललिताले बताइन् । शंखावती चौधरीसंग मिलेर ललिताले १० हजारको लगानी गरेकी छन् । स्टलमा घोङीसंगै बगिया , मुरैको डल्ला , तिलको लड्डु, भक्का,अन्डालगायतका परिकार राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्