बिर्तामोड , फागुन १५ । बिर्तामोड नगरपालिकाले ५ वर्षे आवधिक योजना अनुमोदन गरेको छ ।

नगरपालिकाको सोमवार आयोजित दोस्रो नगरसभाको दोस्रो अधिवेशनले योजना अनुमोदन गरेको हो । अधिवेशनकी सभाध्यक्ष नगर प्रमुख पवित्रा महतारा प्रसाईले अधिवेशन प्रारम्भ भएको घोषणा गरेसंगै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले राखेको प्रस्तावहरुमाथि छलफल गर्दै नगरका विभिन्न योजना, ऐन तथा प्रस्तावहरु पारित भएका छन् ।

अधिवेशनले संगठन तथा व्यवस्थापन प्रतिवेदन (संशोधन), आर्थिक वर्ष २०७९÷८० का लागि स्विकृत योजना तथा कार्यक्रम (संशोधन), आर्थिक वर्ष २०७९÷८०को लागि स्विकृत आर्थिक ऐन (संशोधन), शिक्षा ऐन २०७९ संशोधन गर्न बनेको विधेयक २०७९ र लेखा समिति गठन प्रस्ताव पारित गरेको हो ।

अधिवेशनमा वडा नम्बर ७ की वडा सदस्य हेमलता विक, वडा नम्बर ६का वडा सदस्य खेम अधिकारी, वडा नम्बर ५का वडा सदस्य दुर्गा शिवाकोटीले वडामा रहेका समस्याका बारेमा धारणा राखेका थिए । अधिवेशनमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै नगर प्रमुख प्रसाईले आगामी आर्थिक वर्षको नगरसभा भन्दा अघि नै वडामा रहेका समस्या तथा गर्नुपर्ने कामहरुको विवरण संकलन गरेर पेश गर्न आग्रह गरिन् ।

अधिवेशनमा टेवल भएका प्रस्तावहरुको औचित्यका बारेमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले प्रकाश पारेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्