झापा, फागुन १७ । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्ने प्रस्तावमाथिको छलफल सकिएको छ ।

सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दिएको दुई घण्टाको समयमा एउटा संशोधन प्रस्ताव दर्ता भएको छ । अहिले अर्काे बैठक सुरू भएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र सोही पार्टीका प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्त रूपमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा बैठकमा राजेन्द्रकुमार राईले उक्त संशोधन प्रस्ताव टेबल गरेका हुन् ।
कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका छन् ।

कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले उक्त प्रस्ताव पारित हुने देखिएको हो । उक्त प्रस्तावको विपक्षमा ४ जना प्रदेश सांसद भएको नेकपा (एकीकृत समाजवादी) र एक जना मात्रै प्रदेश सांसद भएको जनता समाजवादी पार्टी रहेका छन् ।
प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाइ सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्