भद्रपुर ,फागुन २७ । भूमि अधिकार मंच झापाका प्रतिनिधिहरुले स्थानीय सरकारले आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

झापाका विभिन्न स्थानमा रहेका अव्यबस्थित भूमिहीनहरुलाई सम्वन्धित जगाधनीहरुले विनाआधार निस्कन दवाव दिँदासमेत स्थानीय सरकार र सरकारका प्रतिनिधिहरुले नसुनेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

बिर्तामोड– ८ स्थित देउनियामा आयोजित भूमि अधिकार मंच झापाको चौथो जिल्ला सम्मेलनमा सहभागीहरुले आफूहरु खोला जंगलको कुना काप्चामा बस्न बाध्य भएको बताए । उक्त स्थानबाट समेत हट्न सम्बन्धित जगाधनीहरुले दवाव दिएकाले तत्काल आफूहरुको बसोबासको व्यवस्थापन गरिदिन स्थानीय सरकारसंग माग गरेका छन् ।
सम्मेलनमा बोल्दै अध्यक्ष अर्जुनकुमार लिम्बूले आफूहरुले अधिकारका लागि पटकपटक आग्रह गर्दा पनि स्थानीय निकायहरुले नसुनेकाले भूमिहीन सुकुम्बासीहरुले अधिकार प्राप्तिका लागि सम्वन्धित वडा कार्यालय र पालिकाहरु घेराउ गर्दै आन्दोलन गर्नुपर्ने बताए।

लिम्बूले चुनावमा अधिकार प्रदान गर्ने भनेर भोट माग्ने कुनै पनि राजनीतिक दलहरुले आफूहरुको अधिकारका लागि पहल नगरेको गुनासो पोखे । लिम्बूको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि भीमकुमारी मगर, रामकुमार खवास, प्रदेश सदस्य शिव राजवंशी, दिलकुमारी राईलगायतले मन्तव्य राखेका थिए । माया बागदासले संचालन गरेको कार्यक्रममा स्वागत ज्ञानबहादुर थापा मगरले गरेका थिए । सोही सम्मेलनले आगामी ३ बर्षे कार्यकालका लागि पुनः अर्जुनकुमार लिम्बूकै अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेका छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्