झापा , चैत्र ८ । विश्व पानी दिवसमा बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यो वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी पानी दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । पञ्चतत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैन भनिन्छ । पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर सबै पानी पिउनयोग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ । २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउनयोग्य छ । नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै शहर, बजार र गाउँमा खानेपानीको समस्या छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्