झापा, चैत ६ । कचनकवलको बनियानीमा रहेको गोल्डेन फ्यूचर स्कूलका प्रिन्सिपल युवराज काफ्लेले अबदेखि कुनै पनि विद्यार्थीलाई नकुट्ने शर्तमा मिलापत्र गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा बिहीवार भएको छलफलमा प्रिन्सिपल काफ्लेले अबदेखि कुनै पनि विद्यार्थीलाई नकुट्ने , विद्यालय निकाला गरिएका विद्यार्थीहरुको परीक्षा अवरोध नगर्नेलगायतका सहमति भएको अभिभावक कर्ण राजवंशीले बताए । प्रिन्सिपल काफ्लेले चैत ५ गते तीनजना विद्यार्थीहरुलाई फलामको डन्डीले पिटेका थिए ।

कक्षा १० मा पढ्ने ३ जना विद्यार्थीहरुलाई परीक्षा शुरु हुनुभन्दा ३० मिनेट अगाडी विद्यालय प्रार्थनामा सबै विद्यार्थीहरुको अगाडी उनले फलामको डन्डीले घाइते हुने गरी पिटेका थिए । उनले परीक्षा पनि दिन नदिएर लठ्ठी प्रहार गरी ती विद्यार्थीलाई विद्यालय निकाला गरेका थिए । ती विद्यार्थीहरु राति १२ बजे भारत सिलिगुडीको एनजीपीमा फेला परेका थिए ।

घटना भएकै दिन पीडित विद्यार्थीका अभिभावकहरुले इलाका प्रहरी कार्यालय बनियानीमा निवेदन दिएका थिए । तर,प्रिन्सिपल काफ्ले छलफल डाकिएको दिन छलफलमै बसेनन् । उनले उल्टै विद्यार्थीका अभिभावकलाई निवेदन फिर्ता लिनु पर्ने, फेसबुकमा आएको समाचार डिलिट गर्नु पर्ने, विद्यार्थीले माफी माग्नु पर्ने अन्यथा एसईई परीक्षा दिन नपाउने धम्की दिएको अभिभावक राजवंशीले बताए । काफ्ले इलाका प्रहरी कार्यालयमा छलफलमा नबसेपछि विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्