झापा, चैत्र १० । नेपालमा मातृ मृत्युमा सुधार आएको देखिएको छ ।

शुक्रबार पूणर्रूपमा सार्वजनिक भएको १२औं राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले नेपालमा मातृमृत्युमा सुधार आएको देखाएको छ । जनगणना २०७८ को प्रतिवेदनले हाल नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले संयुक्त रूपमा गरेको अध्ययनले पाँच वर्षअघि नेपालमा मातृ मृत्यु २३९ जना रहेको थियो । जनगणनासँगै योपटक सार्वजनिक भएको जनगणना प्रतिवेदनले मातृ मृत्युका हाल एक लाख जीवित जन्ममा १५१ जनाको मृत्यु देखाएको हो। जनगणना गर्दाको समयमा गणकहरूले कुनै घरपरिवारमा एक वर्षभित्र कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको छ वा छैन भनी अध्ययन गरेका थिए। यदि कुनै घरमा महिलाको मृत्यु भएको छ भन्ने यकिन भएमा गणकहरूले स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी गराउनेछन् । त्यसपछि स्वास्थ्यकर्मीले मातृ मृत्यु भएको घरमा पुगेर ‘सम्भाव्य कारण’को प्रश्नावली भरेका थिए । प्रजनन उमेर समूहका (१५-४९ वर्ष) का १२ हजार ९७६ महिला मृत्युमध्ये ६५३ जना (पाँच प्रतिशत) को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको समेत देखाएको छ । मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत) को मृत्यु मातृमृत्युसँग सम्बन्धित छ । यसै अवधिमा उक्त उमेर समूहबाट कुल ४ लाख १२ हजार ९३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ , जसअनुसार मातृमृत्युदर १५१ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको हो । गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्युदर भनिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्