दमक ,चैत ११ । झापा जिल्लाका वडा सचिवहरुको प्रथम सम्मेलनले दमक वडा नम्बर ९ का वडा सचिव भोसकुमार थुलुङलाई अध्यक्षमा चयन गरेको छ ।

दमकमा शनिवार भएको भेलाले १५ सदस्यीय समिति गठन गरेको हो । जिल्लाका पन्ध्रवटै स्थानीय तहका १३१ वटा वडाका सचिवहरुको भेलाले वडा सचिवहरु बीचको सहकार्य र समन्वयका लागि संगठन निर्माण गरेको दमक वडा नम्बर ५ का वडा सचिव निधिनारायण ढुंगेलले जानकारी दिए ।

सर्वसम्मत चयन भएको समितिको दुई उपाध्यक्षमा बिर्तामोड नगरपालिकाका टिका अधिकारी र कचनकवल गाउँपालिकाका मदन भण्डारी चयन भएका छन् । त्यसैगरी सचिवमा अर्जुनधारा नगरपालिकाबाट खगेन्द्रप्रसाद लिङ्देन, सहसचिवमा शिवसताक्षी नगरपालिकाबाट विमल बाँस्कोटा र कोषाध्यक्षमा कन्काई नगरपालिकाबाट कमला विश्वकर्मा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कमल गाउँपालिकाबाट अमृतकुमार शाह, गौरीगञ्ज गाउँपालिकाबाट युवराज दाहाल, मेचीनगर नगरपालिकाबाट प्रेम पराजुली, भद्रपुर नगरपालिकाबाट मनकुमार डाँगी, हल्दिबारी गाउँपालिकाबाट तुलसा खत्री, झापा गाउँपालिकाबाट सुनिता सुवेदी, बुद्धशान्ति गाउँपालिकाबाट खड्गबहादुर सुवेदी र बाह्रदशी गाउँपालिकाबाट शम्भुप्रसाद आचार्य चयन भएका छन् । गौरादह नगरपालिकाबाट एक जना थपिने जनाईएको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यतामा भएको भेलाका वक्ताहरुले स्थायी सरकारको रुपमा रहेका पालिकामा कार्यरत वडा सचिवहरुले नै संघीयताको असल अभ्यास गरिरहेको बताएका थिए । कार्यक्रममा दमक नगरपालिकाका लेखा अधिकृत देवीप्रसाद कोईरालाले पालिकाको केन्द्रमा रहेका सबै शाखाहरुको काम वडामा सचिवहरुले गर्नु परिरहेको भन्दै वडा सचिवको जिम्मेवारी धेरै भएको बताए । जिल्लाभरिका काममा एकरुपता ल्याउन पनि यस्तो संगठन आवश्यक रहेको भन्दै उनले कानुनले दिएको परिधिभित्र रहेर सांगठानिक गतिबिधि गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बरालले वडा सचिवहरुले जनप्रतिनिधिहरु भन्दा बढी जिम्मेवार भएर काम गर्नु पर्ने बताए । जनप्रतिनिधिहरुले कहिलेकाहीँ राजनैतिक रुपमा निर्णयहरु गर्नु पर्ने भए पनि वडा सचिवले कानुनी रुपमा काम गर्नु पर्ने बताए । गाउँ–गाउँमा सिंहदरबारको भएको अनुभूति नागरिकलाई वडा सचिवहरुले नै गराईरहेको भन्दै उनले जस्तोसुकै समस्या भए पनि हासीहासी नागरिकलाई सेवा दिन वडा सचिवहरुलाई आग्रह गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्