चारआली, चैत ११ । झापाको मेचीनगर –१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको शनिवार भएको मतदानबाट २० जना सदस्य बन्चित भएका छन् ।

मेचीनगर–१३ का कृष्णकुमार श्रेष्ठको नाम मतदान पुस्तिकामा नहुँदा उनी मताधिकारबाट बन्चित भए । श्रेष्ठले वनको सदस्यता नविकरण गरेपनि कर्मचारीले रसिदमा कार्वन नराखी नविकरण गर्दा सदस्यको अभिलेख छुटेको वनका पदाधिकारीको भनाई छ । सदस्य नविकरणका लागि १ सय रुपैयाँ बुझाउनुपर्छ ।

श्रेष्ठजस्तै २० जना बढीको मतदान पुस्तिकामा नाम छुटेको हुनसक्ने निर्वाचन समितिका सदस्य गोपाल प्याकुरेलले बताए । उनले दाबी–बिरोधको समयमा ८ जनाले प्रमाणसहित निवेदन दिएपछि सदर गरेको र अन्यको उक्त समयमा दाबी नपरेको बताए । वन नेतृत्वको कमजोरीका कारण २० जना सदस्य मतदान गर्न पाउने अधिकारबाट वन्चित भएको प्याकुरेलको भनाई छ ।

श्रीमान् वनको सदस्य भए उत्तराधिकारीको रुपमा श्रीमतीले मतदान गर्न पाउने वनको नियम छ । प्रगतिशील समूहले आफ्नो प्यानलको सदस्यमा लीलादेबी कार्कीलाई उम्मेदवार बनाएको थियो । उम्मेदवार कार्की स्वयम्ले मतदान पुस्तिकामा आफ्नो नाम नभएको पाएपछि उक्त बिषय बाहिर आएको थियो । सर्वदलीय छलफलले सदस्यले मात्रै उम्मेदवार र मतदान गर्न पाउने सहमति गरेपछि कार्कीको उम्मेदवारी अन्योलमा परेको छ । वन समितिको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त प्यानलले वन समितिका वर्तमान अध्यक्ष चन्द्रप्रसाद सिग्देलको नेतृत्वमा प्यानल मैदानमा उतारेको छ भने नेकपा एमालेले आफ्नो प्यानलको अध्यक्षको उम्मेदवार भोजराज पराजुलीलाई बनाएको छ ।

एक हजार एक सय ६४ मतदाता रहेको सो वन समूहमा १ सय ६४ जनाले निर्वाचनमा सहभागी हुन नपाएको मोहन अधिकारीले जानकारी दिए । चारआलीस्थित शहिद दशरथ माविमा बिहान ७ बजे शुरु भएको मतदान अपरान्ह ५ बजे सम्पन्न भएको निर्वाचन समिति सदस्य प्याकुरेलले जानकारी दिए । निर्वाचनमा १ हजार मतदाताले मतदान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्