बिर्तामोड, चैत १३ । यही चैत २१ गते झापाको चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् ।

आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खेलाडीहरुको हौसला बढाउन ७१ वर्षीय मानन्धर र ६४ वर्षीय लामा आउने भएका हुन् ।

मानन्धरले सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा भएको २२ औँ ओलम्पिकमा पहिलोपटक नेपालको प्रतिनिधित्व गरेका थिए । उनी लगातार चारपटकसम्म ओलम्पिकमा सहभागी हुने एक मात्र नेपाली खेलाडी हुन् ।
पहिलो दक्षिण एसियाली खेलकुदका स्वर्णधारी उनले ४१ वर्षसम्म एकछत्र राज गरेका थिए । नेपाली एथ्लेटिक्सका महापुरुष उनले कोलकातामा भएको तेस्रो साफमा बनाएको दुई घण्टा १५ मिनेटको रेकर्ड अझै कसैले पनि तोड्न सकेका छैनन् । सो बेला उनी ३६ वर्षका थिए ।

त्यस्तै, लामा साविक मेची अञ्चलको पहिलो धावक हुन् । उनले २०३१ सालमा राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा मेचीको प्रतिनिधित्व गरेका थिए ।
सो प्रतियोगितामा उनी म्याराथनतर्फ दोस्रो भएका थिए भने मानन्धर प्रथम भएका थिए । लामाले पाँच हजार मिटर र १० हजार मिटर भने ट्रयाक दौडिएका थिए । कक्षा ९ को पढाइ सक्ने बेलामा भाग लिएका लामा सो बेला १६ वर्षका थिए ।
लामा त्यसको दुई वर्षपछि नेपालगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा पनि दोस्रो भएका थिए । त्यसपछि भने उनी खेललाई रोक्दै पढाइतर्फ लागे ।
लामा भेट्रान्सतर्फ एसियन १० औँ हुन् । नेपालमा भएको ५० वर्षमाथिको म्याराथनमा उनी प्रथम भएका थिए । त्यस्तै, ताइवानमा भएको ५५ वर्ष उमेर समूहको एसियन प्रतियोगितामा उनी छैटौँ र जापानको प्रतियोगितामा १० औँ भएका थिए ।
लामा चर्चित गीतहरु ‘आज हाम्रो भेट भको दिन, बादलुको घुम्टोले, खुट्टा तान्दै गर, चलेछ बतास सुस्तरी’ लगायतका रचनाकार पनि हुन् ।

नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको हो ।
झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

संस्थाको मुल कार्यालयबाट सुरु हुने प्रतियोगिता चारपाने चोक–प्रभु चोक–सांगवेद स्कुल–ओमचोक–कुशल चोक–अर्जुनधारा धाम–वरपिपल चोक–मिलडाँडा–प्रगतिटोल–भाङबारी–तामाङ चोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।

प्रतियोगितामा महिला र पुरुषको अलग–अलग दौड हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई ३१ हजार र तेस्रो हुनेलाई २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए । त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्