द्रोण अधिकारी
भद्रपुर । भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर नगरको विकास सुस्ताउँदै गएको नगरबासीले गुनासो गर्न थालेका छन् ।

कर्मचारीमा निर्भर भएर नगरको राजनीतिक नेतृत्व कमजोर हुँदै गएको फाइदा उठाउँदै कर्मचारीतन्त्रको मनोमानीमा कागजी कामले तीव्रता पाएर नगरपालिका कमाइ खाने भाँडो बन्दै गएको हो ।

सेवाग्राहीको काम गर्ने जिम्मेवारी पाएका अधिकांस कर्मचारी अपारदर्शी शैलीमा आफ्नै तजविजका विभिन्न परियोजनामार्फत गोष्ठी सेमिनारको आयोजना गरी आफू–आफू नै भत्ता बाँडेर खाने गरेका छन् ।वार्षिक कार्यतालिका र कार्ययोजनामा समेत कही कतै नदेखिने गरेका कतिपय कार्यक्रम चोरबाटोबाट प्रवेश गराई भत्ता खानकै लागि कर्मचारीहरू मिलिभगतमा कागजी काममा व्यस्त रहँदा कार्यालयमा आउने सेवाग्राही कर्मचारी खोज्दै कार्यक्रम स्थल जानु पर्ने बाध्यता बढ्दै गएको जनगुनासो छ ।
कर्मचारी मात्र नभएर नगर प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समेतलाई कार्यालयमा नगरबासीले भेट्न निकै सकस पर्ने गरेको छ ।

विषयगत कार्यालयमा काम गर्ने अधिकांस कर्मचारी आफ्नै व्यक्तिगत लाभका कार्यमा घुम्ने गरे पनि नियन्त्रण नहुँदा विकृति बढ्दै गएको नगरबासीको गुनासो आइरहेको छ । स्थानीयको गुनासो सुनुवाइ नहुँदा विकृति मौलाउने वातावरण बन्दै गएको छ ।
यस विषयमा जिज्ञासा राख्दा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी नगरपालिकाका कर्मचारी नियमित कार्यालयमा रहने गरेको भन्दै बचाउ गर्छन् । उनले केही प्राविधिक कर्मचारी फिल्डको काममै रहे पनि अन्य कर्मचारी कार्यालयमा भेटिने समेत दावी गरेका छन् ।

जनगुनासो सम्बन्धमा नगर प्रमुख गणेश पोखरेल प्राविधिकबाहेकका कर्मचारीहरू कार्यालयमै बसेर सेवा प्रवाह गर्नु पर्ने दायित्व रहेकोले सो पालना गराउन लाग्ने बताउँछन् । उनले आफू नगरबासीकै काममा बाहिर जाने गरेको प्रष्ट पार्दै दिनमा एक पटक कार्यालय आउने गरेको बताए ।
योजना, प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, सामाजिक सुरक्षालगायतका विषयगत कार्यालयबाट प्रवाह हुने सेवामा समेत नगरबासीले प्रश्न उठाउन थालेका छन् । कमिशन या अतिरिक्त लाभ दिन असहमत सेवाग्राहीले चाहेको सेवा नै पाउन कठिन हुने गरेको गुनासो बढिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्