झापा, चैत १५ । साविक विजेता एपीएफलाई टाईब्रेकरमा हराउँदै भारत केरलाको लुका सकर फुटबल क्लब पहिलो सहभागितामै सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सहिद मैदानको फ्लड लाइटमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल गोलरहित भएपछि खेलको छिनोफानो टाईब्रेकरबाट गर्दा लुका सकरको पक्षमा ४–२ गोलको नतिजा निस्कियो ।

केरलाको प्रिमियर लिगको पाँचौ स्थानमा रहेको लुका सकरले जितसँगै २० लाख १५ हजार रुपैयाँ पुरस्कार राशिका लागि बिहीबार आयोजक विराटनगर सिटीसँग प्रतिस्पर्धा गर्ने छ । उपविजेताले १० लाख १५ हजार पाउने छ । केरलाले क्वाटरफाइनलमा पनि संकटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । विराटनगरले जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि यात्रा गरिसकेको छ ।

टाईब्रेकरमा केरलाका लागि पाउल ओपार, अश्विन लालु, मोहमद रफि र कार्लेसको प्रहार गोलमा परिणत हुँदा कियामुव हेफनको प्रहारलाई एपीएफका गोलकिपर राजु नगरकोटीले रोकेका थिए । विशाल स्याङ्तान र गोलकिपर राजु नगरकोटीको प्रहार विफल हुँदा एपीएफ उपाधि रक्षा गर्न असफल रह्यो । दिपेश धिमाल र सविन गुरुङको प्रहारमात्र गोलमा परिणत भएको थियो । नगरकोटीको प्रहार पोष्टको माथिल्लो वारमा लागेर फर्किएको थियो भने टिमका तर्फबाट विशालले गरेको पहिलो प्रहारलाई केरलाका गोलरक्षक सनफेनले उत्कृष्ट रोकेर टिमलाई उपाधि यात्रामा पु¥याए । उनी खेलको म्यान अफ द म्याच हुँदै ११ हजार पुरस्कार थापे ।

विपक्षीलाई दबाबमा राखेर खेलेको एपीएफले निर्धारित र अतिरिक्त समयमा दर्जन बढी बुनेको पोष्ट आक्रमणमा गोल गर्न चुक्दा खेलको निर्णय टाईब्रेकरबाट गर्नु परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्