झापा , चैत्त १६ । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य कार्यालयसहित वडा कार्यालयहरूमा तालाबन्दी गरेको छ ।

प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत संघर्ष समितिले आज धरान उपमहानगरपालिकाको प्रवेशद्वार र वडा कार्यालयहरूमा तालबान्दी गरेको हो। उनीहरूले उपमहानगरपालिकाको प्रवेशद्वारमा कालो झण्डा राखेर प्रदर्शन गर्नुका साथै कार्यालयको कोशी प्रदेश लेखिएको लेटरप्याडसमेत जलाएका थिए । संघर्ष समितिले धरानका ५, १५ र १२ नम्बर वडा कार्यालयमा कालो झण्डा राखेर तालाबन्दी गरेको छ । फागुन १७ गते प्रदेशले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेश तनावग्रस्त छ । पहिचान पक्षधरले दैनिकजस्तो आन्दोलनका कार्यक्रम गरिरहेका छन् । चैत ५ गते विराटनगरमा भएको प्रदर्शनको क्रममा घाइते भएका लिम्बूवान भोलेन्टियर्सका केन्द्रीय सह-कमाण्डर पदम लिम्बू (लाजेहाङ) को उपचारका क्रममा मृत्यु भएको थियो। टाउकोमा चोट लागेका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो।

अझै उठेन शव
मृतक लिम्बूलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने मागसहित पहिचान पक्षधरले आन्दोलन चर्काइरहेका छन् । पहिचानको आधारमा प्रदेशको नामकरण नहुन्जेल र मृतक लिम्बूलाई शहीद घोषणा नगरेसम्म शव जिम्मा नलिने आन्दोलन पक्ष र परिवारको अडान छ । उनको शव अहिलेसम्म पनि प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्