झापा , चैत्र २४ । देशभरि कोरोना संक्रमित बढ्नेक्रममा झापामा लगातार कोरोना संक्रमण बढ्दै गएको छ । हिजो एकजनामा संक्रमण फेला परेकोमा आज पनि थप एकजना संक्रमित भएका छन् ।

आज मेची प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा भद्रपुरका एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो । मेची प्रादेशिक अस्पतालमा ८ जनाको पीसीआर परीक्षण गर्दा आज पनि एकजनामा संक्रमण देखा परेको अस्पतालका ल्याब इन्चार्ज जितेन्द्र झाले बताए । हिजो बिर्तामोडका एकजना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । ल्याब इन्चार्ज झाका अनुसार दुई महिनायता झापामा पहिलोपटक कोरोना संक्रमण देखा परेको हो ।

यतिबेला सीमापारी भारतमा फेरि कोरोना संक्रमण ह्वात्तै बढ्को छ । भारतमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा थप ६ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ । भारतमा २०३ यताकै उच्च संक्रमण पुष्टि भएको हो । यसअघि गत वर्ष सेप्टेम्बर १६ मा एकदिनमा ६ हजार २ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो ।

सीमावारी नेपालमा पनि यसको जोखिम उच्च देखिएको छ । खुला सीमाबाट संक्रमितको निर्वाध आवतजावत भइरहेकाले जोखिम झनै बढने विज्ञहरू बताउँछन् ।सीमामा निर्वाध आवतजावतले मुलुकभित्र आगामी दिनमा संक्रमण बढ्ने देखिएको छ । संक्रमितको अस्पतालमा भर्नादर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका एकजना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । चारजना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन् ।

चैतमा संकलित २४ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ को संक्रमण फैलिरहेको जनाइएको छ । गत चैत १७ गते सबैभन्दा बढी १ सय ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्