बिर्तामोड, चैत २४ । शिवसताक्षी नगरपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

बिर्तामोड नगरपालिकाद्वारा संचालित प्रतियोगिताको फाइनल खेलमा मेचीनगर नगरपालिकालाई ४–३ गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले उपाधिमाथि कब्जा जमाएको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा शिवसताक्षीलाई जित दिलाउन १६ औ मिनेटमा उमेश दनुवारले पहिलो गोल गरे । शिवसताक्षीका लागि दोस्रो गोल खेलको ३८ औं मिनेटमा कविर योङहाङले गरेका थिए । उसका लागि तेस्रो गोल ४५ औं मिनेटमा श्रवण मल्लिकले गरे । शिवसताक्षीका लागि चौथो गोल खेलको ५८ औं मिनेटमा दिपक तामाङले गरे ।

पहिलो हाफमा २–१ गोल अन्तरको अग्रता कायम गरेको मेचीनगरले दोस्रो हाफमा भने अग्रतालाई बचाई राख्न सकेन । शिवसताक्षीले दोस्रो हाफमा ३ गोल फर्काउँदा मेचीनगरले भने १ गोल मात्रै थप गर्न सक्यो । मेचीनगरका लागि २० औं र २५ औं मिनेटमा रोजित अलीले दुई गोल गरेका थिए । उसका लागि थप एक गोल टिम कप्तान विशाल जवेगुले गरे । खेलको ६७ औं मिनेटमा उनले गरेको फ्रि–किक प्रहारलाई शिवसताक्षीका गोलरक्षकले बचाउ गर्न सकेनन् ।

उपाधिसंगै शिवसताक्षी नगरपालिकाको टिमले नगद ६५ हजार, ट्रफी र मेडल पाएको छ । झापा जिल्ला अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षीले दोस्रो पटक जितेको हो । २०७७ सालमा दमक नगरपालिकालाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

प्रतियोगितामा उपविजेता बनेको मेचीनगर नगरपालिकाको टिमले नगद ४० हजार, ट्रफी र मेडल पाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच शिवसताक्षीका उमेश दनुवार घोषित भए । उनले नगद २५ सय र ट्रफी पाए ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक शिवसताक्षीका गणेश अधिकारी, उत्कृष्ट डिफेन्डर मेचीनगरका धिरज राजवंशी, उत्कृष्ट मिडफिल्डर शिवसताक्षीका श्रवण मल्लिक र उत्कृष्ट स्ट्राइकर मेचीनगरका रोजित अली घोषित भए । उनीहरुले जनही नगद ३ हजार र ट्रफी पाए ।

मेचीनगर नगरपालिकाका टिम कप्तान विशाल जवेगु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए ।

प्रतियोगिताको विजेता, उपविजेता र बिभिन्न बिधामा उत्कृष्ट भएका खेलाडीहरुलाई मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ थोप्रा, बिर्तामोड नगरपालिकाका उमप्रमुख नगेन्द्र संग्रौलालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्