झापा,चैत २५ । ठूलो मात्रामा भारत निकासी हुने गरेको नेपाली चियामा भारतीय पक्षले अनाबश्यक बखेडा झिक्न थालेको नेपालका चिया उद्योगी व्यवसायीहरुले बताएका छन् ।

कहिले भारतीय सरकारका तर्फबाट र कहिले भारतीय संचारमाध्यमका तर्फबाट नेपाली चियालाई अप्ठ्यारो पार्ने र बद्नाम बनाउने दुष्प्रयास भइरहेको उनीहरुको भनाई छ । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत ईश्वरीराज पौडेलसँग झापा र इलामका चिया उद्योगी तथा व्यवसायीहरुले चिया निर्यातमा देखिएका समस्या राख्नेक्रममा त्यस्तो समस्या राखेका हुन् ।

महावाणिज्य दूतावासकै विशेष पहलमा मेची भन्सार कार्यालयको समन्वय र नेपाल चिया उत्पादक संघको व्यवस्थापनमा भन्सारकै सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेपाली चिया निर्यातमा व्यहोर्नु परिरहेको समस्या र ती समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा बृहत छलफल गरिएको थियो ।
कार्यक्रममा चिया उत्पादक तथा व्यवसायीहरुले भारतले नेपाली चियालाई बेला–बेलामा विभिन्न बहानामा समस्या झिकेर दुःख दिने गरेको गुनासो राख्दै स्थायी समाधानका लागि पहल गर्न महावाणिज्य दूत पौडेलसँग आग्रह गरेका थिए । मुख्य रुपमा भारतले गुणस्तरको विषय उठाएर नेपाली चिया निर्यातमा समस्या सिर्जना गर्ने गरेको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले बताए ।

सीमा क्षेत्रमा गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुनु, परीक्षणका लागि चियाको नमूना कोलकाता नै पठाउनुपर्ने बाध्यता हुनु, त्यसको रिपोर्ट आउन ढिलाइ हुनु, नयाँ–नयाँ बहाना झिकेर निर्यात रोक्ने प्रयासलगायतका कारण नेपाली चिया निकासी धरासायी हुने अवस्थामा रहेको व्यवसायीहरुको गुनासो थियो । भारतीय विधानसभा र राज्यसभाबाट नेपाली चियालाई करको दायरामा ल्याउने प्रयास भइरहेको उनीहरुले बताए । त्यस्तै केही भारतीय सञ्चारमाध्यमहरुले पनि नेपाली चिया गुणस्तरहीन भएको भन्ने अप्रमाणित समाचारहरु प्रकाशन–प्रसारण गरेर विश्व बजारमा नेपाली चियाको बदनाम गर्न खोजेको व्यवसायीहरुको गुनासो थियो । नेपाली चिया निर्यात रोक्न भारतका सरोकारवाला केही सरकारी निकायहरु पनि लागेको व्यवसायीहरुको आरोप थियो ।
नेपाल चिया उत्पादक संघको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो भने इलामको तर्फबाट महावाणिज्य दूतलाई ज्ञापनपत्र बुझाइएको थियो ।
चिया उत्पादक तथा व्यवसायीहरुको तर्फबाट संघका अध्यक्ष मित्तल, संघका उपाध्यक्ष एवम् नेपाल चिया तथा कफी विकास बोर्डका सदस्य आदित्य पराजुली, अग्र्यानिक अर्थोडक्स चियाका अभियन्ता, अगुवा चिया उद्यमी उदय चापागाँई, व्यवसायी किसन सरिया, इलाम फिक्कलका उत्तमकुमार श्रेष्ठलगायतले चिया निर्यातका समस्याका बारेमा धारणा राखेका थिए ।
महावाणिज्य दूत पौडेलले नेपाली चिया निर्यातको समस्याका विषयमा दुबै देशका सरोकारवालाहरुसँग कुरा राख्ने र समस्याको दीर्घकालीन समाधान खोज्न आफूले भूमिका खेल्ने बताए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकलगायतले चिया क्षेत्रको समस्या समाधानका लागि दुबै देशको सरकारबीच उच्चस्तरीय छलफल जरुरी रहेको धारणा राखेका थिए ।

काँकडभिट्टा नाकाबाट आर्थिक वर्ष २०७७÷०७८ मा ३ अर्ब रकम बराबरको १ करोड १७ लाख केजी चिया निकासी भएको थियो । त्यस्तै चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २ अर्ब ५२ करोडको १ करोड २६ लाख रुपैयाँको चिया निकासी भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्