झापा, बैशाख १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा प्रहरीमाथि ढुंगा प्रहार गर्दा पक्राउ परेका आन्दोलनकारीहरुको रिहाइको माग गर्दै पहिचानवादीहरुले सदरमुकाम भद्रपुरमा प्रदर्शन गरेका छन् ।

शुक्रवार विभिन्न चर्का नारावाजी गर्दै पहिचानवादीहरुले विरोध प्रदर्शनसंगै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन् । आफूहरुले प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई निशर्त रिहाइका लागि ज्ञापनपत्रसमेत बुझाएको १ नं प्रदेश पुनः नामांकन संघर्ष समितिका संयोजकसमेत रहेका आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए । उनले आइतवारसम्म रिहाई गर्ने आश्वासन प्रजिअ पोखरेलले दिएको जानकारी दिए ।तर, प्रहरी प्रशासनले पक्राउ परेका तीनैजना विरुद्ध मुद्धा दायर गरिसकेको छ । उनीहरुलाई अदालतमा लगेर म्याद थप गरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित एमाले अध्यक्ष ओलीको कार्यक्रममा कोशी प्रदेश नामकरणको विरुद्धमा आन्दोलित पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास गरेका थिए । एमाले अध्यक्ष ओली बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन जाँदै गर्दा कार्यक्रमस्थल नजिकै पहिचानवादीहरूले उनलाई कालोझन्डा देखाउँदै चर्का नाराबाजी गरेका थिए। उनीहरूले ओली सवार गाडीसमेत सडकमै रोक्न खोजेका थिए। एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्न खोज्ने पहिचानवादीहरुले हानेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक अनिल मावोहाङसहित दुई प्रहरी घाइते भएका थिए ।
प्रहरी निरीक्षक मावोहाङ र सहायक हवल्दार सोमित राजवंशी घाइते भएका हुन् । दुवैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मित्र लिङ्देन, पुरन राई (बुलेट किराती) र बलिहाङ मावोमाथि मुद्धा दायर गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्