झापा , बैशाख २१ । पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउका लागि खोजी गरिरहेको जनाएको छ ।

उनी रुपन्देहीमा रहेको भए पनि प्रहरी सम्पर्कमा नआएको स्रोतले जानकारी दिएको छ । “हामीले टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौँ,” प्रहरी स्रोतले बताए , “उनका छोरा पक्राउ परेका छन् । टोपबहादुर रायमाझी पनि खोजीको सूचीमा छन् । पक्राउ परेका छैनन् ।” नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ । सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ । पूर्वमन्त्री रायमाझी पनि बुधबार बेलुका सभामुख देवराज घिमिरेसँग भैरहवाबाट काठमाडौं फर्किने तयारी गरेको भए पनि पक्राउ परिने डरले सम्पर्कमा नआएको प्रहरी स्रोतले जानकारी दियो ।

रायमाझी अहिले प्रहरी सम्पर्कमा रहेको स्रोतले जानकारी दिएको छ । यसअघि सो गिरोहका केही सदस्य र सहयोग पुर्‍याउने उच्च अधिकारी पक्राउ परेका छन् । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् । केपी शर्मा ओली नेतृत्त्वमा रहेको तत्कालीन सरकारले नेपालमा छुटेका शरणार्थीको समस्या स्थायीरुपमा समाधान गर्न भन्दै कार्यदल गठन गरेको थियो । गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको नेतृत्त्वमा बनाइएको समितिमा बाहिरबाट पनि कार्यकर्ता राखेर नेपाली युवालाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने योजना बनाइएको थियो । पन्थी नेतृत्त्वको कार्यदलले काम गरिरहेका बेला झापा, मोरङ, सुनसरी, अर्घाखाँची, बाग्लुङ, गोरखालगायतका जिल्लाका गरी ८७५ जना युवाबाट १० देखि ५० लाखसम्म उठाएको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्