झापा, जेठ ८ । दक्षिणी झापाको कचनकवल गाउँपालिका– ७ स्थित दिपज्योति सामुदायिक वन उपभोक्ता समूहले काठ बेचबिखन घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

वन उपभोक्ता समूहलाई कृत्रिम ग्राहक खडा गरी काठ बेचबिखन गरेको आरोप लागेसँगै समूहले स्थानीय वन महासंघ कचनकवल अध्यक्ष चेतराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको वन समूहका अध्यक्ष हरिप्रसाद लिम्बूले जानकारी दिए । उक्त छानबिन समितिको सदस्यहरूमा हरि सिग्देल, किरण लिम्बू, कौशिला आचार्य र फागुलाल राजवंशी रहेका छन् । समितिले सो बारेमा आइतबार विज्ञप्ति जारी गरी जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिनदेखि विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा यस दिपज्योति सामुदायिक वन उपभोक्ता समूहको विभिन्न टीकाटिप्पणी तथा आरोपहरू लाग्दै आएको यहाँहरूलाई सर्वविदित्तै छ । यस्तो अवस्थामा वन समूह मौन रही काम कारबाही अगाडी बढाउन उचित नभएकोले सत्य तथ्य छानबिनका लागि छानबिन समिति गठन गरी आजको मितिबाट कार्यालयको कुनै पनि काम कारबाही अगाडी नबढाउने र सम्पूर्ण कागजात बिल भरपाईलगायतका सामग्रीहरू छानबिन समितिलाई जिम्मा लगाई १५ दिनभित्र छानबिन समितिको प्रतिवेदन प्राप्त गर्ने विश्वास साथ यो विज्ञप्ति जारी गरिएको छ ।’ वन उपभोक्ता समूहले सोझासिधा विपन्न वर्गका उपभोक्ताको नाम देखाएर गैरउपभोक्तालाई काठ बिक्री गरेको पाइएको हो ।

सामुदायिक वनबाट ९ जना व्यक्तिहरूको नाममा ७५.९ किवी काठ बेचेको पाइएको हो । चण्डी भट्टामा रहेको काठ मिलमा सखुवाका ३ वटा गोलिया नक्कली उपभोक्ताको नाममा बरामद भएपछि घटना बाहिरिएको थियो ।

सामुदायिक वन समूहले उपभोक्तालाई सखुवा जातको लकडी प्रतिक्युफिट ७ सय रुपैयाँमा बिक्री गर्दै आएको छ भने उक्त काठलाई सेटिङ मिलाएर २ हजार ४०० रुपैयाँ प्रतिक्युफिटका दरले अन्यत्र बिक्री गरेको आरोप लागेको हो । उपभोक्ताहरू पदम राजवंशी, छेपालाल राजवंशी, आदुल राजवंशी, मंगलसिंह राजवंशी, मेहेल राजवंशी, देवनारायण राजवंशी, आसारी राजवंशी, विष्णु राजवंशी, गमसरी राजवंशीको नाममा काठ बिक्री भएको रेकर्ड छ । तर यी उपभोक्ताले भने काठ माग नगरेको र खरिद पनि नगरेको जनाइएको छ ।

आफ्नो नाम देखाएर अरुलाई काठ बिक्री गरेको थाहा पाएपछि स्थानीय उपभोक्ताहरू आसारी राजवंशी , गमसरी राजवंशीलगायत तीनजनाले छानविन गरेर दोषी उपर कारवाहीको माग राख्दै कचनकवल गाउँपालिकामा निवेदन दिएका छन् । वन उपभोक्ता समूहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न पत्र पठाइएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्