झापा , जेठ १८ । सरकारले खोटाङको हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजनाअघि सारेपछि स्थानीयले खुसी ब्यक्त गरेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट वक्तव्यमा हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने घोषणा गरेपछि स्थानीयवासी खुसी भएका हुन् । किरात राई समुदायको उद्गमथलो मानिने तुवाचुङलाई खुल्ला साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजनासहित बजेटमा समावेश भएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले ‘हलेसीको समृद्धि हाम्रै पालामा’ हुने प्रतिक्रिया दिएकी छन् । ‘हलेसी तुवाचुङ नगरपालिकाको नागरिक र जनप्रतिनिधि हुनुका नाताले गर्वले छाती चौडा भएको छ,’ मेयर राईले भनेकी छिन्, ‘हलेसीको संमृद्धि अब हाम्रै पालामा ।’ सरकारले हलेसी तुवाचुङलाई किरात साँस्कृतिक सर्किटमा समेट्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ । सरकारले नयाँ बजेटमा लारुम्बा, मुन्धुम ट्रेल, हलेसी तुवाचुङ, खुवालुङ लगायतका स्थानलाई समेटेर साँस्कृतिक सर्किटको निर्माण गर्ने योजनाअघि सारेको हो । आफ्नो पुर्खा दिदी तायमा, बहिनी खियामा र भाइ रैछाकुलेले बसोबास गरेको, तान बुनेर कपडा लगाउने परम्परा बसाएको, खेतीपाती सुरु गरेको लगायतका किंवदन्तीका आधारमा राई समुदायले तुवाचुङ-जायजुमलाई श्रद्धाको थलोका रुपमा लिने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्