बिर्तामोड,जेठ १९ । बिर्तामोड नगरपालिका वडा नं.२ निवासी नारायण राजवंशी र उनकी धर्मपत्नी फुलन राजवंशीले आफ्ना दिवंगत पितृहरुको नाममा १ धुर जमिन दान गरेका छन् ।

आफ्ना स्वर्गवासी पिता बानालाल राजवंशी, माता खिलेश्वरी राजवंशी ,कान्छी आमा खादोसरी राजवंशी तथा स्वर्गवासी दाजुहरु मीन राजवंशी र पूर्ण राजवंशीको स्मरणमा झापाको बिर्तामोड –१मा देवी पञ्चकन्या उत्तरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश नं.१कै पहिलो बहुजाति,बहुभाषी,बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरलाई नगद रु १लाख १ हजार मूल्य बराबरको भूमिदान गरेका हुन् ।

प्रतिष्ठानले अघि सारेको १ ब्यक्ति १ इटादेखि १ धुर भूमिदान सहयोग समर्पण अभियान कार्यमा आफ्नो तर्फबाट समेत ऐक्यवद्धता जाहेर गर्दै भाषा,कला साहित्य र संस्कृतिको संरक्षण सम्बद्र्धनका लागि थोरै भएपनि योगदान पुर्याउने उद्धेश्य राखेर आफ्ना स्वर्गवासी पितृहरुको स्मरणमा भूमिदान गरेको दाता नारायण राजवंशीले बताए ।

सबै जातजाति तथा भाषाभाषीको सामूहिक अपनत्व कायम हुने गरि हाल निर्माण भइरहेको झापा नाटकघर परिसरमा पुगेर दाताले प्रतिष्ठानका प्रशासकीय अधिकृत राजकुमार भट्टराई र अनुगमन समिति अध्यक्ष भोजकुमार मास्केलाई भूमिदान बराबरको चेक हस्तान्तरण गरेको प्रतिष्ठानकी कोषाध्यक्ष मुना प्रसाईले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्