झापा, साउन ४ । बिर्तामोड -९ का उदय कुर्मीकी श्रीमतीको नाम मुन्नी हो । तर, उदय आफ्नी श्रीमतीलाई गोसाइपुर भनेर बोलाउँछन् ।

श्रीमतीले श्रीमानको नाम र श्रीमानले श्रीमतीको नामबाट संबोधन गर्नु हुँदैन भन्ने परम्परा मान्दै उनी श्रीमतीलाई उनको माइतको गाउँको नामबाट बोलाउने गर्छन् । मुन्नीको माइत गोसाइपुर हो ।

त्यस्तै बिर्तामोड- २ चैतुवारीका स्वर्गीय कालु राजवंशी पनि आफ्नी श्रीमतीलाई घेरावारीयानी भनेर बोलाउने गर्थे । कालु राजवंशीकी श्रीमतीको माइत घेरावारी हो । धेरैले साविक नामबाट श्रीमतीलाई बोलाउने गर्दैनन् । बोलाएपनि नामलाई बिगारेर बोलाउँछन् । जस्तै सुमित्रालाई सुमु, जानुकालाई जानु ,पवित्रालाई पवि,गीतालाई गीतु, लक्ष्मीलाई लक्षु आदि । अनि मायाले बोलाउने नाम धेरै छन् । बेबी , डियर , लभ्ली , प्यारी , कान्छी , जानु, सानी,बुडी जस्ता उपनाम श्रीमानले श्रीमतीलाई दिने गरेका छन् ।

त्योसंगै कतिपय श्रीमानले मायाले भन्दै नाममा एकलखे लगाएर बोलाउने अनि काली , नेप्टी ,डल्ली ,पुड्कीजस्ता अपहेलित शव्द प्रयोग गरेको पाइन्छ । कसै कसैले ‘ओई’ भनेर बोलाउने गरेको समाजमा सुन्न पाईने शब्द हो । त्यस्तै कतिपय श्रीमानले जात नै काडेर बाहुनी , क्षेत्रीनी , राजवंशीयानीजस्ता नराम्रा शव्द बोलेको सुन्न पाइन्छ । जसले जुन रुपले हेर्ने र अर्थ लगाउने गरेता पनि वास्तवमै यी शब्दहरु बोलाईमा मात्र नभएर सुनाईमा समेत खल्लो लाग्ने शब्दहरु हुुन् ।

छोराछोरीको नाम लिएर फलानाको ममी भन्ने शब्द प्रयोग गरेको पनि पाइन्छ । फलानाको ममी केही राम्रो तर सिधै ममी भनेर बोलाउँदा सोह्रै आना गलत हुन्छ । श्रीमती र आफूलाई जन्म दिने आमा सँगै साथमा भएको समयमा ममी भनेर बोलाउँदा को बोल्ने त ? श्रीमती र आमालाई एउटै दर्जामा राख्न सक्ने र बोलाउने कुरै हुँदैन । ममी भनेर बोलाउने श्रीमतीको दर्जा के त ? यस्ता प्रश्नवाचक चिन्हहरु आफ्नो सामुन्ने खडा हुनसक्छ ।

क्षितिज नाट्य प्रतिष्ठान बिर्तामोडका अध्यक्ष माधव कल्पितकी श्रीमतीको नाम सुजना हो । उनी आफ्नी श्रीमतीलाई केटाकेटीकी आमा, घरकी जहान, काइली बाहुनी भनेर बोलाउने गर्छन् । त्यस्तै वीरता जेसीजका महासचिव जनक खड्का आफ्नी श्रीमती भगवती ढुंगेललाई मायाले भगे भनेर बोलाउने गरेको बताउँछन् । त्यस्तै बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौलाको श्रीमतीको नाम तुलसा हो। आफूले तुलसा नै भनेर बोलाउने गरेको तर कहिलेकाही प्यारो गरेर बुढी पनि भन्ने गरेको उनी सुनाउँछन् । बिर्तामोडका समाजसेवी राजकुमार पोखरेल भन्छन् , ‘मेरी श्रीमतीको नाम मीना हो । म उनलाई सामान्य अवस्थामा मीनाजी भनेर बोलाउने गर्छु। बिषम परिस्थितिमा भने ‘मीना ’ वा ‘ए मीना ’ भनेर पनि बोलाउने गर्छु ।’ नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल आफ्नी श्रीमती हिमा पौडेललाई प्रायःजसो मेडम भनेर सम्बोधन गर्ने गरेको बताउँछन् भने पूर्व प्रदेश सांसद बसन्त बानिया पिङ्गला नामकी आफ्नी श्रीमतीलाई घरमा बोलाउने चल्तीको नाम उमाजी भनेर बोलाउँछन् । त्यस्तै डा. लक्ष्मी मैनालीकी श्रीमतीको नाम सुमा हो । उनी भन्छन् , ‘औपचारिक अवस्थामा सुमा भनेर बोलाउँछु , कहिलेकाही “काली” भन्छु ।’त्यस्तै गैरसरकारी संस्था महासंघ झापाका पूर्व अध्यक्ष हरि गौतम आफ्नी श्रीमती उषालाई ‘ए नानी’ भनेर बोलाउँछन् भने फरेस्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा. लीलानाथ शर्मा आफ्नी श्रीमतीलाई नामबाटै सीता भनेर संबोधन गर्छन् ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाँई र उनकी श्रीमतीको नाम भने मिलेको छ । आफ्नी श्रीमती राधिका चुँडाललाई उनी राधिका भनेर बोलाउँछन् । उनी भन्छन् ‘ म कृष्ण अनि मेरी राधिका ।’ साहित्यकार कृष्ण धरावासी आफ्नी श्रीमती मन्जु विमलीलाई मन्जुजी भनेर बोलाउने गरेको बताउँछन् । त्यस्तै इलाम रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्वो सुवास आफ्नी श्रीमती माया गुरुङलाई “माया” भनेर संबोधन गर्छन् । आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीका अनुसार श्रीमतीको नाम रिता हो तर, उनी मेडम भनेर बोलाउँछन् ।

महिलाहरुले आफ्ना श्रीमानबाट सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन् । श्रीमानबाट कहिल्यै राम्रो व्यवहार नपाएको र पतिले कहिल्यै राम्रो बोलीबचनसम्म नगरेको गुनासो सुनिने गरिन्छ ।
दम्पत्ती भनेका जोडी हुन् । जोडी बराबर भए जीवन सजिलो हुन्छ । श्रीमतीले सधैं मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर श्रीमानले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने गुनासा महिलाहरुले गर्ने गरेका छन् । सम्मानजनक बोलीवचन नहुँदा कतिपय दम्पत्ति संगै बस्न नसकेर अलग भएका घटना निकै छन् ।

नेपाली समाज र हिन्दु धर्मावलम्बीहरुका लागि केही संस्कारले समस्यामा पारेको पाईन्छ । महिलाका लागि आफ्नो पतिलाई भगवान मानेर पुजा गर्नु पर्ने र नाम लिन नहुने पुरानो संस्कृतिमा केही परिवर्तन आएता पनि समग्र रुपमा परिवर्तन आउन सकेको छैन । आफूभन्दा ठुलावडाहरुलाई नामले बोलाउन नहुने कुरा एक हिसावले हेर्ने हो भने राम्रो हो ।प्राय श्रीमानको उमेर श्रीमतीको भन्दा केही धेरै हुन्छ त्यसकारण पनि नामले श्रीमानलाई बोलाउन श्रीमतीहरुलाई केही असहजता महसुस भैरहेको हुन्छ । श्रीमतीले गर्ने गरेको आदर र सम्मानलाई ख्याल गरी श्रीमानले सोही अनुसार व्यवहार गर्नुपर्छ । श्रीमान र श्रीमतीबीच प्रयोग गरिने बोलीबचनले संस्कार र संस्कृतिको मर्यादा कायम राख्नुका साथै माया र प्रेमलाई दीगो बनाइराखेको हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्