झापा, साउन ८ । मेची आँखा अस्पतालभित्रै छिरेर होटल व्यवसायीहरुले विरामी तानातान गर्दा महिनैपिच्छे झडप हुन्थ्यो । उनीहरुको विवाद वडा कार्यालय र नगरपालिकामा मात्र सीमित नरहेर प्रहरी कार्यालयमा समेत पुग्थ्यो । इलाका प्रहरी कार्यालय बिर्तामोडमा महिनैपिच्छे सैनिकमोडका होटल व्यवसायीहरुको विवादको छलफल भइरहन्थ्यो । विगत पाँच वर्षदेखिको ग्राहक तानातान अर्थात दलालीको विवाद अब भने सल्टिएको छ ।

स्थानीय सतानु सैनिकमोड टोल विकास संस्थाको सक्रियतामा होटल व्यवसायीबीचको तानातान अन्त्य गरिएको हो । बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , वडा सदस्य हरि बाँस्कोटा , इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्की , प्रहरी चौकी बिर्ताबजारका प्रहरी सहायक निरीक्षक टीकाराम कार्कीको सहकार्यमा ग्राहक तानातानको समस्या हल गरिएको टोल विकास संस्थाका अध्यक्ष चिरञ्जिवी ओलीले बताए । उनले मेची आँखा अस्पताल क्षेत्रमा रहेका सम्पूर्ण ५४ वटा होटलका संचालकहरुको उपस्थितिमा अस्पताल परिसरमा गएर कसैले पनि ग्राहक तानातान नगर्ने सहमति गराएको जानकारी दिए । टोल विकास संस्थाले आचारसंहिता नै निर्माण गरेको सचिव श्री न्यौपानेले बताए ।

आचारसंहितामा मेची आँखा अस्पताल तथा दृष्टि आँखा अस्पताल आसपासका सम्पूर्ण होटल संचालकले अस्पतालमा आएका सेवाग्राही (बिरामी) तथा उनीहरुका आफन्तलाई अस्पताल वरपर तथा अस्पताल आसपासको सडकको दुबैतर्फ तानातान तथा दलाली गर्न नपाईने , तानातान तथा दलाली गरेको देखिएमा वा पाईएमा ईलाका प्रहरी कार्यालयसंग समन्वय गरी अभद्र व्यवहारको कारवाही गरिने साथै ५ हजार रुपैयाँ जरिवाना गरिने उल्लेख छ । त्यस्तै होटल तथा लजको नाम अंग्रेजी, नेपाली तथा स्थानीय भाषा मात्र प्रयोग गर्न पाईने र त्यसबाहेकका भाषामा लेखिएका बोर्डहरु टोल विकास संस्थाले स्वतः खारेज गर्नेे छ।
अनुगमन गर्दा माथि उल्लेखित नियम उल्लंघन गरेको पाईएमा वडा कार्यालय, टोल विकास संस्था, सैनिकमोड होटल व्यवसायी संघको उपस्थितिमा होटल बन्द समेत गराउने गरी आचारसंहिता बनाइएको वडाध्यक्ष बुढाथोकीले बताए । आचारसंहिता निर्माणपछि आसामी र बंगाली भाषामा लेखिएको साइन बोर्ड होटल संचालकहरुले मेटाउन थालेको स्थानीय कोसिस घिमिरेले बताए ।

त्यस्तै दुई दिनअघि प्रहरीले मेची आँखा अस्पतालअगाडिको होटलहरुमा छापा मारेको छ । यौन व्यवसाय संचालन हुने गरेको गुनासो आएपछि प्रहरीले होटलमा छापा मारेको र त्यसक्रममा दुई जोडीलाई नियन्त्रणमा लिइएको डीएसपी कार्कीले बताए । विगतमा बिर्तामोडको बसपार्कमा रहेको विविध समस्या सैनिकमोड क्षेत्रका होटलहरुमा देखिन थालेपछि जनप्रतिनिधि र स्थानीय समाजसेवीहरु चिन्तित देखिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्