दमक, साउन १६ । झापाको कमल गाउँपालिकामा क्रियाशील सात दलले साझा मुद्धाका रुपमा पालिकाभित्र सञ्चालित योजना तथा घोटाला प्रकरणबारे सर्वदलीय संयन्त्र बनाएर छानबिन गर्न माग गरेका छन ।


नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कमल ५ स्थित साधुहोली सिमसारका नाममा भएको भनिएको खर्च विवरण सार्वजनिक सुनुवाईमार्फत सार्वजनिक गराउन, सोही योजनामा यसअघि गाउँपालिकाबाट दुई पटकसम्म विनियोजित बजेटमा भएको अनियमितता र उपलब्धीको यथार्थ विवरण सार्वजनिक गर्न साथै २०७९ भन्दा अघि सम्पन्न भएका विभिन्न योजनाहरुको नाम तोकेरै छानबिन गर्न माग गरेका हुन् ।

सोमबार गाउँपालिका कार्यालयमा पुगेका ७ दलीय प्रतिनिधिहरुको संयुक्त टोलीले कमल २ को तोपगाछी (क्याम्पा) खानेपानी स्कीम २, ढ्यांग्रीको भ्यू टावर पूल, कमल ३ को पर्यटकीयस्थल बनाउन भनी सञ्चालन गरिएको बाल्मीकि आश्रम, कमल ५ मा बाँसद्वारा निर्मित कोरोना विशेष उपचार केन्द्रमा भएको बजेट विनियोजन र सोको कार्यान्वयनमा भएको यथार्थ छानबिन गरि सार्वजनिक गर्न माग गरेका हुन् । ७ दलको तर्फबाट गाउँपालिका अध्यक्ष हुकुमसिंह राईलाई बुझाइएको ज्ञापनपत्रमा सिम्लेमा विरबहादुर चेम्जोङको अध्यक्षतामा बनेको वन उपभोक्ता समितिको विघटन, वन फडानी गरि त्यहाँबाट उठाइएका तीन ट्रयाक्टर टिक काठका गोलिया कहाँ र कुन अवस्थामा छ भनी प्रश्न गर्दै छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरिएको छ ।

नेकपा एमाले बाहेकका दलहरुको संयुक्त ज्ञापनपत्रमा कांग्रेसका तर्फबाट कमल गाउँसमितिका कार्यवाहक सभापति पदम निरौला, माओवादी केन्द्रका तर्फबाट गाउँ कमिटी अध्यक्ष रविन गुरुङ, नेकपा एसका तर्फबाट अध्यक्ष होम बराल, जसपाका तर्फबाट अध्यक्ष प्रेम राई, राप्रपाका तर्फबाट अध्यक्ष युवराज खडका, रास्वपाका तर्फबाट अध्यक्ष केदार चापागाँई र सलोरामका तर्फबाट अध्यक्ष तेजु आङदेम्बेले हस्ताक्षर गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष राईले भ्रष्टाचार र अनियमितता विकासको बाधक भएको बताउँदै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअनुरुप स्थानीय सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्