झापा, साउन १६ । महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन झापामा अझै नियन्त्रणमा आइसकेको छैन ।

यतिबेला लम्पी स्किनको संक्रमणबाट भद्रपुर क्षेत्रका किसानहरु प्रभावित भएका छन् । अहिलेसम्म झापामा लम्पी स्किनबाट ५१९ वटा चौपाया मरिसकेका छन् । ठूला व्यावसायिक फार्मभन्दा दूध बिक्री गरी जीवकोपार्जन गर्दै आएका साना किसानको गाई मरेपछि उनीहरु नराम्ररी प्रभावित भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भद्रपुरका प्रमुख शितल भट्टराईले बताइन् । उनले लम्पी स्किनबाट भएको क्षतिलाई मूल्यांकन गर्ने हो भने झापामा करोडौंको क्षति भएको बताइन् । सरकारले लम्पी स्किन रोगका कारण पीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महामारी प्रभावित किसानलाई राहत दिन र त्यसको आवश्यक गृहकार्य गर्न निर्देशन दिएका थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर कूल ११ लाखभन्दा बढी पशु लम्पी स्किन रोगबाट प्रभावित भएका छन् । तीमध्ये आठ लाख ६७ हजार पशु चौपाया निको भइसकेका छन् । यस्तै, ४८ हजार पशु चौपाया सो रोगका कारण मरेका छन् । हाल एक लाख ८१ हजार पशु चौपाया सो रोगका कारण सक्रिय संक्रमित छन् ।

पशु चौपाया मर्दा प्रत्यक्ष रुपमा ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । यस्तै, यसबाट समग्रमा एक खर्ब बराबरको क्षति भएको बताइन्छ । यही रोगले ठूलो मात्रामा गोरु मर्दा कतिपय जिल्लामा धान रोपाइँसमेत प्रभावित हुनुका साथै दूध उत्पादनमा समेत असर परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्