झापा, साउन १९ । नेपाल–भारत व्यापार र पारवहन सन्धिविपरित भारतीय पक्षले भद्रपुर–गलगलिया सीमा नाकाबाट ओहोरदोहोर गर्ने दुई पांग्रे नेपाली नम्बर प्लेट भएका मोटरसाइकलमाथि रोक लगाएको छ ।


भारतका महावाणिज्य दूतावास वीरगन्जले पठाएको पत्रलाई आधार मानेर गलगलिया भन्सार कार्यालयले भद्रपुर नाकाबाट गलगलिया बजारसम्म जाने नेपाली नम्बर प्लेट भएका मोटरसाइकलमाथि रोक लगाएको हो । भन्सार कर्मचारीको आदेशमा भारतीय एसएसबीले सीमा नाकामै मोटरसाइकलमाथि रोक लगाएपछि सर्वसाधारण नेपालीले सास्ती झेल्नु परेको छ ।
परमिट नभएको मोटरसाइकल भारत प्रवेशमा रोक लगाउँदा सवारी धनीहरू आ–आफ्नो मोटरसाइकल सीमामै राखेर पैदल गन्तव्यतर्फ जान बाध्य भएका छन् । माथिको आदेश भन्दै भन्सार कर्मचारीले बिहीबार दिउँसो १२ बजेदेखि एक्कासि मोटरसाइकलमाथि रोक लगाएको बताइएको छ ।
नेपाली नम्बर प्लेट भएका मोटरसाइकल प्रवेशमाथि रोक लगाउन लागेको अग्रिम कुनै सूचना वा जानकारीसमेत भारतीय पक्षले नेपाली पक्षलाई दिएको छैन ।

दुई देशका सरकारबीच सन् १९६० भएको सम्झौता अनुसार नेपाली गाडीहरू भारतीय सीमा बजार वा रेल्वे स्टेसनसम्म जान पाउने भनिएको छ, त्यसमा कुनै परमिट चाहिँदैन । भारतीय सीमा बजार वा रेल्वे स्टेसनबाहेकको दुरीसम्म जाने, भारतमा एक दिन वा त्यसभन्दा बढी दिन बस्ने नेपाली सवारीसाधनले भारतीय दूतावास, काठमाडौँ वा महावाणिज्य दूतावासबाट वाहन अनुमति परमिट लिनुपर्छ भनी लेखिएको छ । तर, गलगलिया भन्सार कर्मचारीले सन्धिविपरीत नै मोटरसाइकलमाथि रोक लगाएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ ।

सन्धिविपरीत भारतीय सीमा बजारसम्म जाने मोटरसाइकललाई समेत रोक लगाएपछि सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भद्रपुरका डीएसपी श्यामसंगति महर्जन र वडा प्रहरी कार्यालय भद्रपुरका सन्तोष बुढाथोकी, पत्रकारसहितको टोलीले गलगलिया भन्सारका सुपरिटेन्डेन्ट उमेश कुमारलाई गएर कार्यालयमै भेटेको थियो ।
भन्सारका सुपरिटेन्डेन्ट उमेश कुमारले भन्सार हेडक्वार्टर पटनाले सबै मोटरसाइकलमाथि रोक्न लगाउनु भनी कुनै आधिकारीकपत्र भने नपठाएको स्विकारेका छन् । हेडक्वार्टरले भारतका महावाणिज्य दूतावास वीरगन्जले पठाएको पत्र नै इमेल गरी दुई दिन अघि पठाएपछि त्यसलाई कार्यान्वयन गर्दै मोटरसाइकलमाथि रोक लगाएको उनले बताए । यसबारेमा हेडक्वार्टरमा कुरा गरी छिट्टै मोटरसाइकल आवतजावतलाई सहज बनाउने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्