झापा, साउन १९ । दुई साताअघि सुनसरीको धरान–इटहरी सडकखण्डको सेउती पुलनजिकै भएको लुटपाट एवं गोली प्रहार घटनामा संलग्न भएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन ५ मा भएको उक्त लुटपाटको प्रतिकारको क्रममा लुटेराले हानेको गोली लागेर घाइते भएका विराटनगर–५, कोचाखालका २८ वर्षीय रोहित चौधरीको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार धरान–८ बस्ने झापा भद्रपुर नगरपालिका–१ का ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर–१५ का ४१ वर्षीय अजयकुमार शर्मालाई बिहीबार पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये शर्माको घटनामा प्रयोग भएको पेस्तोल बेचबिखनमा भूमिका रहेको प्रहरीले जनाएको छ । उनी लागूऔषध मुद्दामा ४ वर्ष ८ महिना कैद भुक्तान गरी ४ महिना अगाडि छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उक्त घटनामा संलग्न मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दीपक तिमिल्सिना र धरान–१० का ३४ वर्षीय अनसन तामाङलाई १६ साउनमा प्रहरीले पक्राउ गरेको थियो । श्रृंखलाबद्ध लुटमा संलग्न रहेर पक्राउ परेका उनीहरुबारे इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट खुलासा भएअनुसार पक्राउ तिमिल्सिना र राईको यसअघि ८ असारमा धरान–१७ को खैरेनी जंगलमा एक महिलासँग, २३ असारमा धरानबाट मोटरसाइकलमा प्रकाशपुर गइरहेका दम्पतीसँग र ३१ असारमा धरानबाट कालाबञ्जार जाँदै गरेका अर्का एक व्यक्तिसँग लुटपाटमा संलग्नता देखिएको छ ।

प्रहरीका अनुसार पक्राउमध्ये तिमिल्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिनाअघि मात्र छुटेका थिए । तामाङ लागूऔषध मुद्दामा ६ महिना सजाय भुक्तान गरी दुई वर्ष अगाडि छुटेका थिए । दुवै जना लागूऔषध दुर्व्यसनी भएको अनुसन्धानको क्रममा खुलेको छ । उनीहरुबाट एउटा अटोमेटिक चिनियाँ पेस्तोल, ९ राउन्ड गोली, २ म्यागजिन, १ गोलीको खोका, ५ कालो झोला, ४ लेडिज ब्याग, दुई खुकुरी, ५ मोबाइल र १ औंठी बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्