झापा ,साउन २२ । नेपालमा कृत्रिम शरणार्थी बन्ने लहरले प्रश्रय पाउँदा वास्तविक भूटानी शरणार्थीको मुद्दालाई ओझेलमा पारेको छ ।

त्यसप्रति वास्तविक भूटानी शरणार्थीहरुले चिन्ता गरेका छन् । भूटान पिपल्स पार्टीले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे समय छँदै छानबिन गरी दोषीलाई सजायको भागीदार बनाउन नेपाल सरकारसंग माग गरेको छ ।

‘कृत्रिम शरणार्थी बन्न चाहने र आर्थिक लेनदेनको बलमा गलत प्रक्रिया अपनाउन सघाउने संगठित समूहको भीडमा पीडित, निरीह र तीन दशकदेखि शितलहर, घामपानी, झरी र आगलागीजस्ता दैविक प्रकोपबाट आक्रान्त बनेका वास्तविक भूटानी शरणार्थीको मुद्दालाई अनदेखा गर्ने प्रयास गरिनु अत्यन्तै निन्दनीय छ । यसर्थ यस विषयमा गम्भीरतापूर्वक निरीक्षण गरी निरीह भूटानीहरूको उचित व्यवस्थापनका लागि नेपाल सरकारसँग म हार्दिक अनुरोध गर्दछु ’ भूटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले विज्ञप्ति जारी गरी भनेका छन् । आइतवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पौड्यालले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका टेकनाथ रिजालका विषयमा पनि आफ्नो धारणा राखेका छन् । उनले रिजाल निर्दोष भए फसाउन नहुने र गल्ती गर्नेलाई सजाय हुनैपर्ने बताए । उनले टेकनाथ रिजाल र भूटान पिपल्स पार्टीको सम्बन्धमा उत्पन्न केही भ्रम र यथार्थका विषय बोल्दै रिजाल केवल मानवअधिकार क्षेत्रमा सहभागी हुन रुचाउने प्रकृतिको व्यक्ति भएको र भूटान पिपल्स पार्टीसंग सम्बद्ध नरहेको स्पष्ट पारे । रिजाललाई राजधानीबाट प्रसारित केही सञ्चारमाध्यम, अनलाइन खबर, श्रब्यदृश्यहरूले मनगढन्ते रुपमा भूटान पिपल्स पार्टीको संस्थापक वा कसैले अध्यक्षको उपाधि दिएर परिचय दिने गरेकोमा पौड्यालले भने ,‘यो सरासर गलत प्रचारवाजी हो । रिजाल कुनै राजनीतिक कार्यकर्ता हुनुहुन्न । उहाँको भूटान पिपल्स पार्टीसँग कुनै राजनीतिक सम्बन्ध पनि छैन । यसर्थ अनावश्यक तथा अन्दाजका भरमा कनै व्यक्ति वा संस्थालाई बदनाम गराउने उद्देश्यले गरिने गलत प्रचारवाजी सच्याउन सबैमा म हार्दिक अनुरोध गर्दछु ।’

गत वर्ष शरणार्थी परिचयपत्र नवीकरणका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेका पञ्जीकृत शरणार्थीहरूको नवीकृत परिचयपत्र रोकिएपछिको अवस्थाले उत्पन्न समस्याका कारण धेरै शरणार्थीले विविध प्रकारका सास्ती बेहोर्नु परिरहेको छ । शरणार्थी शिविरमा पुनर्वास प्रक्रियाले उपार्जन गरेको पारिवारिक विखण्डनको चपेटामा परेका धेरै बृद्धवृद्धाहरू छन् । उनीहरू आफ्नै बाहुबलको भरमा जीवन धान्नसक्ने अवस्थामा पनि छैन । तसर्थ यस प्रकारका असहायहरूको मुद्दालाई शीघ्रातिशीघ्र अवलोकन र अध्ययन गरी उचित व्यवस्थापन गर्न पनि उनले नेपाल सरकारसँग अपिल गरेका छन् । अझैसम्म नेपालमा बेलडाँगी र पथरीमा दुईवटा शिविर परिचालित छन् । जहाँ सात हजारभन्दा बढी आश्रितहरूको बसोबास छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्