झापा , साउन २३ । नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

फाइल फोटो

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए ।
पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।

त्यस्तै सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकस पार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दु निर्माण गरेको स्थानमा पहिरो खसेको छ । यहाँ साउनको पहिलो सातादेखि पहिरो खस्ने क्रम जारी छ ।

चाइना स्टेट कन्स्ट्रक्सनले पानी रोकिनासाथ ठूलो मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको छ । ठूला ढुंगा नभएकाले वर्षा रोकिने हो भने छिट्टै राजमार्ग एकतर्फ खुल्ने प्रहरीले जनाएको छ । केही दिनअघि खसेको पहिरोले राजमार्गमा जतिबेला पनि खस्न सक्ने गरी धराप बनाएको थियो ।

वर्षाले सुरुङमार्गको उत्तरतर्फको सुरुङ प्रवेशविन्दु रिब पोर्टलको माथिल्लो भागबाट ठूलो पहिरो खसेको छ । राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सवारीसाधन बाटोमै रोकिएका छन् । यो सडक भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारीसाधन सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्