झापा , साउन २९ । मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकीसहित १० घर बगाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जानकारी अनुसार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी तल कागबेनी बस्तीमा छिरेपछि १० वटा घर÷होटल, प्रहरी चौकी, जोमसोम–कोरोरा सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्युतीय पोल बगाएको छ ।

त्यसैगरी बाढीले कागबेनीस्थित धर्मशाला पुरेको छ । मनसुनमा पनि पानी नपर्ने छायाँवृष्टि भएको मुस्ताङमा दुई दिनदेखि लगातार झरी परेपछि मुक्तिनाथदेखि केही तल झोङको पहिरो कागखोलामा मिसिएपछि बाढी आएको हो ।
‘आइतबार साँझदेखि स्थानीय ठाडो कागखोलामा आएको बाढीले कागबेनी बस्तीमा बाढीले वितण्डै मच्चाएको छ । बाढीपहिरोले सडकमार्ग धेरै स्थानमा बिग्रेकोले हामी जोमसोमबाट कागवेनीतर्फ पैदल हिँडेका छौं । घटनास्थल पुगेर थप विवरण संकलन हुन्छ,’ मुस्ताङका प्रजिअ केसीले भने, ‘स्थानीय, प्रहरी र त्यहाँ पुगेका पर्यटकहरु रातभर सुरक्षित स्थलमा आकासमुनि रात बिताएका छन् ।’

त्यस्तै लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको छ ।

नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले बताए । ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ ।

नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्