एजेन्सी । भारी वर्षासँगै पहिरो जाँदा भारतको हिमाचल प्रदेशको सिम्लास्थित प्राचीन मन्दिर भत्किएर ९ जनाको मृत्यु भएको छ । अरु कम्तीमा २० जना मानिस भत्किएको संरचनाभित्र पुरिएको बताइएको छ ।


घटनास्थलमा अहिले ठूलो संख्यामा उद्धार टोली खटाइएको छ । हिमाचल प्रदेशमा पछिल्लो केही दिनयता भारी वर्षा हुँदा विभिन्न स्थानमा बाढीपहिरो गएको छ । बीबीसीको समाचार अनुसार पछिल्लो २४ घन्टाको अवधिमा बाढीपहिरोमा परी २१ जनाको मृत्यु भइसकेको छ ।

मन्दिर भत्किएको स्थानमा अवलोकनका लागि पुगेका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले घटनास्थलमा २० देखि २५ जना मानिस पुरिएको हुनसक्ने बताएका छन् । पर्यटकीय सहर सिम्लाको दृश्यावलोकन गर्न र चिसो मौसमको आनन्द लिन हरेक वर्ष हजारौं मानिस घुमघामका लागि जाने गर्छन् ।

केही दिनयता वर्षा र बाढीका कारण बगाउँदै गरेका गाडी र भवनहरूको भिडियो फुटेज सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् । मुख्यमन्त्री सुखुविन्दरले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित रुपमा घरभित्रै सतर्क भएर बस्न आह्वान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्