झापा, भदौ १८ । नेपालले आईसीसी वुमेन्स ट्वान्टी–ट्वान्टी वर्ल्डकप क्वालिफायरमा सोमबार लगातार चौथो जित निकाल्यो र यसका लागि कतारमाथि नौ विकेटको जित रह्यो ।

यो जितपछि नेपालको चार खेलबाट आठ अंक भएको छ र प्रतियोगिताको सेमिफाइनल पुग्ने निश्चित भएको छ । अब नेपालले आफ्नो अन्तिम खेलमा यूएईको सामना गर्नेछ र यही खेलले समूह विजेताको निधो गर्नेछ । प्रतियोगितको फाइनल पुग्ने दुई टिम ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ । नेपालले जितका लागि ७५ रनको लक्ष्य पाएको थियो र टिम यूकेएम–वाईएसडी ओभल मैदानमा १०.३ ओभरमा एक विकेट गुमाएर विजयी रन बटुल्यो ।

ओपनर काजल श्रेष्ठले २८ बलमा ३२ रनको उत्कृष्ट इनिङ्स खेलिन् । उनले चार चौका पनि प्रहार गरिन् । काजलले सीता रानामगरसँग पहिलो विकेटका लागि ४७ रनको निर्णायक साझेदारी गरिन् । सीताले २३ बलमा १७ रन बनाइन् । यस्तै इन्दु वर्माले १२ बलमा २० रन बनाइन् । उनले तीन चौका पनि प्रहार गरिन् ।

यसअघि नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो र यसक्रममा कतारले २० ओभरमा सात विकेट गुमाएर ७५ रन बनाएको थियो । त्यसमा साची धडवालाले २१, एलिना खानले १५ र एन्जिली मारेले नटआउट रहँदै १४ रन बनाए । नेपाली बलरमध्ये इन्दुले तीन तथा पूजा महतो र कविता जोशीले १÷१ विकेट हात पारे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्