बिर्तामोड, भदौ २२ । महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनी , बिर्ताबजारको भुतपूर्व विद्यार्थी समाजको प्रथम साधारणसभा तथा अधिवेशन हिजो सम्पन्न भएको छ ।

विद्यालयको प्रांगणमा सम्पन्न अधिवेशनले राजकुमार पोखरेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । निर्वाचन समितिका संयोजक खड्गप्रसाद खरेलका अनुसार अधिवेशनले उपाध्यक्षमा मदनगोपाल सुब्बा , सचिव मोहन शिवाकोटी र कोषाध्यक्ष बिष्णुमाया मैनालीलाई चयन गरेको छ । यसरी नै सदस्यहरुमा काजी बुढाथोकी ,डा. लक्ष्मीप्रसाद मैनाली , बिनोद गौतम , केशव प्रसाईं , रुपक गोदार थापा , कमलराज विमली , वेदप्रकाश न्यौपाने , वीरबहादुर दर्नाल , ईन्द्रसिंह राजवंशी , नरेश न्यौपाने र लिला अनमोल उप्रेती रहेको निर्वाचन समिति सदस्य युवराज कट्टेलले बताए ।

२०७९ मंसिर २८ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको समाजको तदर्थ समितिलाई नै आगामी दुई वर्षको लागि पुनः सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
तदर्थ समितिका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षता र विद्यालयका संस्थापक प्रधानाध्यापक किशोर प्रसाईंको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा पोखरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत तथा कार्यक्रममाथिको प्रकाश मदनगोपाल सुब्बा र संचालन मोहन शिवाकोटीले गरेका थिए ।

यसैगरी विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल , विद्यालय ब्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद सेडाई , पूर्व विद्यार्थीका तर्फबाट गोपिकृष्ण प्रसाईं र उमा शिवाकोटीले आ–आफ्ना भनाई राखेका थिए । ध्रुव ओलीले पूर्व विद्यार्थीहरुको तर्फबाट धन्यबाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा विद्यालयकै पहिलो र एसएलसी समूह २०२७ का पहिलो विद्यार्थी हरिप्रसाद पोखरेल , पूर्व विद्यार्थी तथा श्री २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउने संस्था तथा ब्यक्तिलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ! सम्मानित हुनेहरुमा महेन्द्र रत्न मावि , श्री २१ नम्बर बाहिनी अड्डा तोपगाछी र तदर्थ समिति सदस्य नरेशकुमार न्यौपाने रहेका छन् ।

समाजले तदर्थ रहेकै बेला विद्यालयकी सेवानिवृत्त शिक्षक नीरा प्रधानको जन्मोत्सव कार्यक्रम , २०७९ र ८० सालको गुरु पूर्णिमाको अवसरमा जेष्ठ शिक्षक तथा दुई जना पूर्व कर्मचारीलाई सम्मान गरेको थियो ।
समाजले देश विदेशमा रहेका पूर्व विद्यार्थीहरुको स्वतस्फुर्त आर्थिक सहयोगमा अक्षयकोषको स्थापनाको कार्य निरन्तर गरिरहेको छ भने सबै पूर्व विद्यार्थीहरुलाई आजीवन सदस्य लिएर अक्षयकोष बृद्धिमा सहयोग गर्न आव्हानसमेत गरेको छ । झापा जिल्लाकै एक नमुना विद्यालय निर्माणमा सहयोग पुर्याउने समाजको भिजन रहेको अध्यक्ष पोखरेलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्