भद्रपुर,भदौ २४ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ५ मा दाता सत्यनारायण सरियाले दान दिएको जग्गामा भवन निर्माण गरी २०७५ सालमा सञ्चालनमा आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार हुँदै गएको छ ।


उपचार सेवा लिन आउने सेवाग्राहीको संख्या दिनानुदिन बढ्न थालेपछि मेची आँखा अस्पतालले आफ्नो मातहतमा रहेको मेची आँखा उपचार केन्द्रको पनि सेवा विस्तार गरेको हो । यसैक्रममा अस्पतालले मेची आँखा उपचार केन्द्र परिसरमा भवन निर्माण गरी आइतबारदेखि अन्तरंग विभाग सञ्चालनमा ल्याएको छ ।
शल्यक्रिया गर्नुपर्ने विरामीको संख्या बढ्दै गएको र शल्यक्रियापश्चात् विरामीलाई अन्यत्र राख्नुपर्ने बाध्यताको समाधानका लागि करिब एक करोड रुपैयाँको लागतमा भवन निर्माण गरी १५ शय्याको अन्तरंग विभाग सञ्चालनमा ल्याइएको भवन निर्माण समितिका संयोजक एवम् मेची आँखा अस्पताल संघका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारीले जानकारी दिए ।

आइतबार केन्द्र पसिरमा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले सो अन्तरङ्ग विभागको उद्घाटन गरे । मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि नगरप्रमुख पोखरेलले मेची आँखा उपचार केन्द्र दक्षिणी झापाका बासिन्दाका लागि मात्र नभई सीमावर्ती भारतीय नागरिकका लागि समेत आँखा उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था बन्दै गएको बताए । उनले यो भद्रपुरको गहनाको रुपमा विकसित हुँदै गएको बताउँदै यसको विकास र विस्तारका लागि नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यसै आर्थिक वर्षमा सो उपचार केन्द्रका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिए ।
संघका सचिव गणेश पोखरेलले सञ्चालन गरेको समारोहमा वक्ताहरुले विस्तारै मेची आँखा उपचार केन्द्रले गति लिन थालेको उल्लेख गर्दै आँखाजस्तो संवेदनशील अंगको सर्वसुलभ उपचार सेवा प्रदान गर्न सरकारको मात्र मुख नताकी सबैले सक्दो सहयोग गर्नुपर्ने धारणा राखे ।

भवन निर्माण समितिका संयोजक अधिकारीले स्वागत गरेको समारोहमा रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईं, दाता सत्यनारायण सरिया, ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष दीपक पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष गुरुङले मनकारी दाताहरुकै सहयोगबाट झापाको बिर्तामोड र भद्रपुरमा आँखा उपचारको गुणस्तरीय सेवा प्रदान गर्न सकिएको उल्लेख गरे । मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले पछिल्लो समय प्रविधिको विकाससँगै विश्वभर आँखाको समस्या बढ्दै गइरहेको जानकारी गराउँदै सबै उमेर समूहका मानिसले समय–समयमा आँखा जाँच गराइरहनु पर्ने सुझाव दिए ।

भद्रपुरमा सञ्चालनमा आएको अन्तरंग विभागका लागि आवश्यक भौतिक सामग्रीहरु सरिया परिवारले नै सहयोग गरेको भवन निर्माण समितिका संयोजक अधिकारीले जानकारी दिए । उनका अनुसार सुरुवातताका दुई–चारजना सेवा लिन आउने गरेकोमा हाल दैनिक सयको हाराहारीमा विरामी आउने गरेको र प्रत्येक बुधबार १० जनासम्मको शल्यक्रिया हुने गरेको छ ।

यसैबीच भद्रपुर नगरपालिकाको वडा नं ५ स्थित मेची आँखा उपचार केन्द्र परिसरमा शल्यक्रियासहितको तीनदिने निःशुल्क आँखा शिविर सुरु भएको छ ।

केन्द्रमा नवनिर्मित अन्तरंग सेवा प्रारम्भको अवसर पारेर रोटरी क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर र इनरह्वील क्लव अफ भद्रपुरको संयुक्त व्यवस्थापनमा आइतबारदेखि शिविर शुरु भएको हो ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले अन्तरंग विभाग भवन उद्घाटनसँगै आँखा शिविरको पनि उद्घाटन गरेका छन् ।

आँखाका विरामीहरुको संख्या बढ्दै गइरहे पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका बिरामीहरुलाई लक्षित गर्दै निःशुल्क शिविर आयोजना गरिएको शिविरका संयोजक एवम् रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।

शिविरको पहिलो दिन नै सेवाग्राहीको उल्लेख्य भीड लागेको थियो । आँखा उपचारका लागि भद्रपुर मात्र नभई झापाका अन्य स्थानीय तह र छिमेकी भारतको सीमावर्ती क्षेत्रबाट समेत बिरामी आएको रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईंले बताए ।
शिविरमा मेची आँखा अस्पतालका विशेषज्ञहरुले सेवा दिइरहेको र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई केन्द्रमै राखेर शल्यक्रिया गरिने बताइएको छ ।

तीन दिनमा करिब एक हजार जनाको आँखा परीक्षण र करिब तीन सय जनाको शल्यक्रिया गरिने अनुमान गरिएको शिविर मंगलबारसम्म सञ्चालन हुने इनरह्वील क्लव भद्रपुरकी अध्यक्ष निर्मला निरौला खड्काले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्