शनिश्चरे, भदौ २९ । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराले ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजनामा गरेको नगरस्तरीय सांस्कृतिक नृत्य प्रतियोगितामा रुपरत्न मेमोरियल बोर्डिङ स्कुल प्रथम भएको छ ।

अर्जुनधारा नगरपालिकाको प्रांगणमा आयोजित कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा अर्जुनधारा ७ को रुपरत्न स्कुल सुनुवार जातिको सांस्कृतिक झाँकी प्रस्तुत गर्दै प्रथम भएको हो । नगरमा रहेका १७ वटा संस्थागत विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा अर्जुनधारा ६ को हिमाली एजुकेशन फाउण्डेशनका विद्यार्थीले कौरा नृत्य प्रस्तुत गर्दै दोस्रो भए भने अर्जुनधारा ११ को होलीका इङलिस स्कूलका विद्यार्थीले संगिनी नृत्य प्रस्तुत गर्दै तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी अर्जुनधारा ८ को इलाइट किन्डर हाउस र अर्जुनधारा ६ को देवी पाथीभरा इङलिस स्कूलका विद्यार्थीले सान्त्वना स्थान जितेका छन् ।

प्रतियोगिताको निर्णायकमा नृत्य कलाकार संघ मोरङका अध्यक्ष इन्द्रजीत मगर र संघ सुन्दरहरैंचा नगरपालिकाका अध्यक्ष सन्तोष मगर रहेका थिए । विजेता विद्यार्थी तथा प्रिन्सिपलहरुलाई अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा नं १ का अध्यक्ष उपेन्द्र बस्नेत, वडा नम्बर ६ का अध्यक्ष हरिश्चन्द्र बाँस्तोला, महिला तथा बालबालिका इकाईकी प्रमुख शान्ति गड्तौला, प्याब्सनका पूर्व केन्द्रीय सदस्य मोहन सुब्बा, प्याब्सन झापाका सदस्यद्वय प्रभुकुमार श्रेष्ठ र सुमन शर्मा जमरकट्टेललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सल्लाहकार टिआर गौतमले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए । यसैबीच, प्याब्सनले बाल दिवसको अवसरमा अतिरिक्त क्रियाकलापअन्तर्गत आइतबार निबन्ध लेखन (कक्षा ६–८) र वक्तृत्वकला (कक्षा ९–१०) प्रतियोगिता आयोजना गर्ने कोषाध्यक्ष राजन वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्