भद्रपुर, असोज ८ । भद्रपुर भन्सार कार्यालयले वर्षौदेखि गैरकानूनी रुपमा दैनिक ३ हजार ७ सयभन्दा बढी रकम असुल्दै आएको खुलेको छ ।

भारतीय सवारीसाधनलाई सुबिधाको रसिद दिँदा कानूनतः कुनै पनि रकम लाग्दैन । तर, भद्रपुर भन्सारका कर्मचारीले भने हल्का सवारी (कार, भ्यान, जीप) लाई दैनिक ५० र मोटरसाइकललाई दैनिक २० रुपैंया लिँदै आएका छन् । रकम नदिए कर्मचारीहरु गालीगलौच र हातपातमै उत्रने गरेको पीडितहरूको गुनासो छ । यसरी डर, धम्की र दादागिरीका साथ उठाइएको रकम भने सरकारी राजश्वमा जाँदैन ।

नेपाल–भारतको सम्झौता अनुसार भारतीय सवारीसाधनलाई भन्सार कार्यालय रहेको ठाउँबाट नजिकको बजारसम्म पुगी सोही दिन सोही नाकाबाट फर्कने शर्तमा नेपाल प्रवेश गर्नको लागि दिइने ईजाजतपत्रलाई सुविधा भन्ने गरिन्छ । यस्तो सुबिधा लिँदा कुनै शुल्क लाग्दैन । भन्सारले दिने ईजाजतपत्रमा पनि कतै शुल्क उल्लेख हुँदैन ।

ईजाजतपत्र (सुबिधा)को पत्रमा सवारी धनीको नाम, सवारीको चेसिस नं., इन्जिन नं., गाडी नं.,सवारी चालकको नाम र चालकको लाइसेन्स नं. उल्लेख गर्नु पर्ने हुन्छ । तर, भन्सारले दिने कुनै पनि ईजाजतपत्रमा पुरा विवरण लेखिएको हुँदैन । सवारीसाधन भन्सार कार्यालय लगेर मात्र सो ईजाजतपत्र दिनु पर्ने कानूनी प्रावधान भएपनि कर्मचारीको मिलेमतोमा (बढी रकम दिएर)अधिकांश सवारीसाधन भन्सार कार्यालय नलगी सुबिधाको ईजाजतपत्र दिने गरेको एक भारतीय सवारी चालकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्