झापा, असोज १२ । राजबन्दीका हैसियतमा भुटानको चेम्गाङ्गमा ३० वर्ष लामो जेल सजाय काटेर बेलडाँगी शरणार्थी शिविरमा फर्किएका मधुकर मगरलाई भुटानमा राजनीतिक बन्दीहरूको रिहाइको लागि सञ्चालित विश्वव्यापी अभियानले आर्थिक सहयोग गरेको छ ।


नेदरल्यान्ड्सको हेगमा रहेका अभियानका संयोजक राम कार्कीको समन्वयमा अमेरिका तथा युरोपमा रहेका भुटानी शरणार्थी समुदाय तथा शुभेच्छुकबाट उठाइएको २ लाख १२ हजार रुपैयाँ बिहीबार बेलडाँगी शिविरमा आयोजित एक समारोहका बीच हस्तान्तरण गरिएको छ ।

भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले उक्त रकम मगरलाई हस्तान्तरण गरेका थिए । बाहिरी मुलुकमा रहेका ३६ सहयोगीबाट राजबन्दी मगरका लागि सहयोग संकलन गरिएको बेलडाँगी शिविरका पूर्वसचिव डीबी सुब्बाले जानकारी दिए । अभियानका संयोजक कार्कीले ३० वर्ष थुनामा बसेर शिविरमा फर्किएका मगरको नयाँ जीवन थालनीका क्रममा गास बासका निम्ति तत्कालका सहयोग उपलब्ध गराइएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्