झापा, असोज १४ । नेकपा (एकीकृत समाजवादी) ले देशको पूर्वी नाका काँकडभिट्टाबाट आजदेखि मेची–महाकाली राष्ट्रिय जागरण अभियान सुरू गरेको छ ।


देश रूपान्तरणको मूल एजेन्डासहित सुरू अभियानमा केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षद्वय घनेन्द्र बस्नेत र जयन्ती राई, कृषिमन्त्री बेदुराम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, पूर्वमन्त्री रामकुमारी झाँक्री, दिपक मनाङ्गेलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

असोज २८ गते महाकालीको सुर्खेत पुगेर समापन हुने जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देश हाँक्न सक्ने ल्याकत कम्युनिस्टहरुबाहेक अन्य पार्टीसँग नभएको दाबी गरे ।
नेकपा माओवादी नेतृत्वको गठबन्धन सरकारप्रति लक्षित गर्दै उनले सरकारले अब पनि जनताको पिरमर्का बुझ्न र समस्याहरु समाधानको बाटो अबलम्बन सकेन भने सरकारप्रति जनताको माया कम हुँदै जाने बताए । उनले थपे,‘त्यसैले यो सरकारले जनअपेक्षाबमोजिम काम गर्नुको विकल्प छैन ।’

एमालेसँग विद्रोह गरी एकीकृत समाजवादी गठन गरेका पूर्व प्रधानमन्त्री नेपालले आफ्नो पार्टी युवा, किसान, महिला, दलित उत्पीडित र पिछडिएका समुदायहरुसँग हातेमालो गरेर अघि बढ्ने जनाए ।

उनले समाजवादको यात्रामा कम्युनिस्टहरु फुटेर हैन, जुटेर अघि बढ्नुपर्ने जनाउँदै भने ,‘समाजवादको बाटोमा कम्युनिस्टहरूबीच एकता आवश्यक छ त्यसैकारण चार कम्युनिस्टबीच मोर्चाबन्दी भएको हो ।’
वरिष्ठ नेता झलनाथ खनालले दलाल पूँजीवादी शासन व्यवस्थाले देश कब्जा गरेको भन्दै कम्युनिस्ट सरकारले समेत अहिलेसम्म जनताको गाँस, बास र कपासको व्यवस्था गर्न नसक्नु दुखद भएको जनाए ।
पूर्व प्रधानमन्त्री खनालले पूँजीवादी व्यवस्थाको विकृति र विसंगतिलाई निर्मूल पार्न समाजवादको विकल्प नरहेको जनाए । ‘जबसम्म देशमा समाजवाद आउँदैन तबसम्म जनताले सुख पाउँदैनन्’, खनालले थपे ।
केन्द्रीय उपाध्यक्ष जयन्ती राईले कोशी प्रदेशको नामकरणका विषयमा चाँडो छलफल गरेर समस्या समाधान गर्न पार्टीलाई सुझाव दिइन् ।

महासचिव घनश्याम भुसालले राजनीति बिग्रिएका कारण गणतन्त्रले पनि बाटो बिराउन थालेको बताउँदै नेपाली कम्युनिस्ट पार्टीबीच एकताको विकल्प नरहेको दाबी गरे । गणतन्त्र, संघीयता, समानुपातिक समावेशी जस्ता उपलब्धीको रक्षाका खातिर पनि कम्युनिस्टहरु एक हुनुपर्ने उनको तर्क थियो ।

कार्यक्रम सुरु हुनुअघि विभिन्न जातजातिका झाँकीसहित निकालिएको र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । कार्यक्रममा पार्टीका सचिव, केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्यहरुको पनि सहभागिता रहेको थियो । पार्टीका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको पुष्प पोखरेलले सञ्चालन गरेका थिए भने केन्द्रीय सदस्य चन्दा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

अभियान बिर्तामोड, दमक, इटहरी, सप्तरी, धनुषा, रौतहट, बारा, चितवन, रुपन्देही, बुटवल, दाङ, बाँके, बर्दिया, टिकापुर, धनगढी, महेन्द्रनगर हुँदै २८ गते सुर्खेत पुगेर समापन हुने प्रदेश अध्यक्ष बलदेव चौधरीले जनाए ।अभियानका क्रममा बिर्तामोडमा पनि कोणसभा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्