झापा,असोज १६।मनसुन बाहिरिने समय नजिकिएसँगै वर्षा कम हुँदै गएपछि किसानले हिउँदे तरकारी र अन्य बालीका लागि जमिन तयार पार्न थालेका छन् । तराईमा छिटो तयार हुने जातको धान काट्न सुरु भइसकेको छ । धान निकालेपछि खेतमा किसानले हिउँदे तरकारी लगाउँछन् तर यस पटक किसानलाई तरकारी खेती गर्न समस्या हुने देखिएको छ । बजारमा तरकारीको बिउ अभाव भएकाले कसरी तरकारी खेती गर्ने भन्ने समस्यामा किसान परेका छन् । तराईमा उत्पादन हुने काउली र बन्दाकोभीको बिउको बजारमा अभाव देखिएको छ । नेपालमा विकास गरिएको काउली पहाडी क्षेत्रका लागि मात्र उपयुक्त रहेको र त्यसबाट तराईमा उत्पादन लिन सकिने अवस्था छैन । काउलीबाहेक तराईमा हिउँदे खेतीका रूपमा लगाइने मुला, रायो, चम्सुर, धनियाँ, पालक आदि जातका तरकारीको बिउ पनि बजारमा भेटिन छाडेको छ । किसानहरू बिउको खोजीमा दिनहुँ पसल चहार्दै हिँडिरहेका हुन्छन्। नेपालमा उत्पादन हुने केही जातका बिउ बजारमा उपलब्ध छन् तर किसानहरू हाइब्रिडमा बानी परेका कारण नेपाली बिउ प्रयोग गर्न रुचाउँदैनन् । कम उत्पादन दिने भएकाले किसानहरू हाइब्रिड बिउतर्फ आकर्षित छन् तर जेठयता भारतबाट तरकारीको बिउ आयात भइरहेको छैन । यसले गर्दा हिउँदे तरकारीको बिउको बजारमा अभाव देखिएको हो । नेपाल सरकारले बिउ उत्पादनमा आत्मनिर्भर बन्ने र नेपालमै बढी उत्पादन दिने गरी हाइब्रिड बिउ अनुसन्धान गर्ने भन्दै बिउ आयातमा एकीकृत प्रणाली लागु गरेको छ । सरकारले लागु गरेको एकीकृत प्रणालीको असर बजारमा देखिएको हो । विगतमा राष्ट्रिय बिउबिजन केन्द्रमा दर्ता भएका कम्पनी तथा फर्महरूले एक प्रतिशत र दर्ता नभएका फर्महरूले पाँच प्रतिशत भन्सार महसुल तिरेर भारतबाट बिउ आयात गर्ने गरेका थिए । अहिले पाँच प्रतिशत भन्सार महसुल तिरेर बिउ आयात गर्न बन्द गरिएको छ । यसले गर्दा बिउ बिक्रिवितरण गर्दै आएका ९० प्रतिशतभन्दा बढी पसलमा हाइब्रिड बिउ भेट्न मुस्किल छ । नेपालमा उत्पादित बिउ छन् तर आवश्यकताअनुसार पाइँदैन । नेपाली बिउप्रति किसान विश्वस्त नहुँदा त्यसको प्रयोग गर्न हिच्किचाइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्