बिर्तामोड, असोज २४ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल २१औँ शताब्दीको उपनिवेश बन्न लागेको दावी गरेका छन् ।

समाजवादी मोर्चाले बुधवार झापाको बिर्तामोडमा गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले मुलुक अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका हुन् ।
‘नेपाल देश नै रहन्छ कि रहन्न भन्ने स्थितिमा छ, यदि हामीले जथाभावी यतिकै छाडिदियौँ भने नेपाल देश नै कता पुग्छ भन्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘नेपालको राष्ट्रिय स्वाधिनता यति धेरै खतरामा परेको छ, साम्राज्यवादी तत्वहरुको प्रत्यक्ष हस्तक्षेप हुँदैछ, यदि पार्टी र नेताहरुले ध्यान पुर्याउन सकेनन् भने नेपाल २१आँै शताब्दीको उपनिवेश बन्ने खतरामा पुगेको छ ।’ नेपालमा विदेशी सेनाहरु प्रत्यक्ष आउने अवस्थामा पुगेको, साम्राज्यवादी देशका सेनाको ठूलाठूला हवाइजहाज काठमाण्डौमा आउने र तीनले ल्याएका सामानहरु बिनाजाँच गाडीमा राखेर लगिने गरेको उनले बताए । साम्राज्यवादी मुलुकहरुले नेपाललाई सैनिक अखडा बनाउन लागेको उनको भनाई थियो ।

अमेरिकाले रातारात ठूला ठूला सैनिक जहाज ल्याउने र ती जहाजहरुमा के सामान ल्याइराखेको छ भन्ने नेपाली जनतालाई सूचना नहुनुका साथै हवाइ अड्डाका कर्मचारीहरुलाई ती सामान जाँच गर्ने अधिकार पनि नभएको नेता विप्लवले बताए ।देशप्रति इमान्दार पार्टीहरुले यस बिषयमा बोल्नुपर्ने नेता विप्लवले धारणा राखे ।

इतिहास आफैँ नहुने भन्दै उनले इतिहास निर्माण गर्ने बिषय भएको बताए । उनले भने, ‘इतिहास भनेको सचेततापूर्वक हस्तक्षेप गरेर जन्माउने कुरा हो,’ उनले भने, ‘त्यसैले कहिलेकाँहि हाम्रा बाटाहरुमा थोरै अन्योलता आउँदा गलत मान्छेहरुले भ्रम फैल्याएर फाइदा उठाउन खोज्छन् ।’ नेपाल यताउता नभई एक ठाउँमा आउन लागेको उनले बताए ।
उनले मुलुकको राज्यसत्ता मुठ्ठीभर दलालहरुको हातमा गएको बताए । शिक्षा, स्वास्थ्य आदि मुठ्ठीभरका दलालहरुले कब्जामा राखेको उनको भनाई थियो । माओवादीले मुलुक आफ्नो हातमा छ भन्ने भ्रममा नपर्न उनले आग्रह गरे । उनले भने, ‘राज्यसत्ता माओवादीको हातमा छ भन्ने लाग्छ भने त्यो माओवादीको भ्रम हो ।’

हिजो माओवादीहरुमा केहि मन नमिलेर अलगअलग भएपनि अब एक हुने बेला आएको नेता विप्लवले बताए । मुलुकलाई जोगाउन साझा धारणाका साथ समाजवादी मोर्चा गठन भएको भन्दै विप्लवले भने, ‘समाजवादी मोर्चा गठन भएपनि केहि मानिसहरु तिल्मिल्याउन थाले ।’

उनले माओवादीका नेताहरूलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिए ।
‘जनयुद्ध लडेका नेताहरूलाई साम्राज्यवादीहरूले अपराधीकरण गर्न खोजिँदै छ । झुन्ड्याउन खोजिँदै छ । म चेतावनी दिन चाहन्छु । यदि त्यो चेष्टा गर्न खोजिए अर्को जनयुद्ध हुन्छ । त्यो पहिलाको जस्तो १० वर्ष लागेर हुँदैन । १० दिनमा अर्को जनयुद्ध हुन्छ । त्यसले सबैलाई बढारेर लैजान्छ’, उनले भने, ‘जनयुद्ध मरेको छैन र मर्दैन, जनयुद्ध हरेकको मनमा छ ।’
आफूसँग भएको सम्पत्ति पार्टीलाई बुझाएर युद्ध गरेको माओवादी कसरी अपराधी भयो भन्दै उनले प्रश्न गरे ।
नेपालीहरुको अवस्था हैन व्यवस्था परिवर्तन हुनु पर्ने उनले बताए । उनले नेपाली बिशेषताको समाजवाद ल्याउन जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै अर्का वक्ता नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनाल ‘बलदेव’ले अहिलेको सरकारले भ्रष्टाचार निर्मुल पार्न लाग्दा केहि मानिसहरु जुका जसरी जुर्मुराएको बताए । उनले नेपालको कृषिमा कायापलट गर्न सकिने बताए । वर्तमान सरकारले कृषकको मलको समस्यालाई केहि हदसम्म हल गरेको बताए । उनले नयाँ पार्टीप्रति लक्षित गर्दै मुलुक परिवर्तनका खातिर लामो समयदेखि जनयुद्ध हाँकेर आएका पार्टीहरुलाई केहि भुइँफुट्टाहरुले आएर चुनौती दिएको बताए ।
कार्यक्रममा बोल्दै नेकपा समाजवादीका सचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले पहिला प्रशस्त भ्रष्टाचार हुने गरेको बताए । उनले भने, ‘अहिले भन्दा पहिले भ्रष्टाचार हुन्थ्यो तर बोल्ने हिम्मत कसैले गर्दैन थिए, कसैले बोल्यो भने सजाय भोग्नु पर्थ्यो ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्