झापा, कात्तिक ३ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले दशै पर्वको बारेमा विवाद नगर्न आग्रह गरेका छन् । उनले विभिन्न किसिमले व्याख्या गर्ने गरिएपनि दशै नेपालीहरुको साझा पर्व भएको बताए ।

बडादशै , तिहार , छठ तथा नेपाल सम्वत लगायत विभिन्न चाडपर्वको उपलक्ष्यमा आज बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै एमाले अध्यक्ष ओलीले दशै महत्वपूर्ण र अर्थपूर्ण चाड भएको बताए । सामूहिक सुप्रवन्ध र सामूहिक सुव्यवस्थालाई कायम गरी नाता सम्बन्धलाई सुदृढ राख्न दशैले मद्धत गरेको ओलीले बताए । ‘दशैमा दक्षिणा पैसाले हुँदैन , माया र स्नेहले हुन्छ ’उनले भने,‘ चाडपर्वले धनी गरिव सबै जनामा खुशी ल्याउँछ ।’ चाडपर्वले सबै परिवारमा खुशी , स्नेह प्रदान गर्ने र सबैलाई एकतामा बाँध्न मद्धत गर्ने गरेको उनको भनाई छ । पूर्व प्रधानमन्त्री ओलीले बडादशैंको अवसरमा सबै नेपालीहरुलाई सुख र समृद्ध प्राप्त होस् भन्दै शुभकामना दिएका छन् ।

कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चाडवाडको अवसरमा शुभकाना दिदैं नेपाली नागरिकको जीवनमा सुख र खुशियाली ल्याउन सकोस् भनेका छन् । उनले वर्तमान गठबन्धन सरकारको अत्याचार विरुद्ध एक हुन आव्हान समेत गरेका छन् । हरेक परिवारमा सरकारको महंगीको असर परेको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलले देशलाई आर्थिक संकटबाट जोगाउनुपर्ने धारणा राखेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका नेता कार्यकर्ता, विभिन्न राजनीतिक दलहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा माओवादी नेतृ धर्मशिला चापागाई, कांग्रेस झापाका सचिव कृष्ण हुमागाँई, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नागरिक समाजका तर्फबाट डा.रामबाबु गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
नेकपा एमाले झापाले व्यवस्थापन गरेको कार्यक्रममा पार्टीलाई १० कठ्ठा जमिन निःशुल्क सहयोग गर्ने डिल्ली सिटौलालाई अध्यक्ष ओलीले सम्मान गरेका थिए । कार्यक्रममा गीत नृत्य प्रस्तुत गरिएको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्