एजेन्सी । अमेरिकाले पूर्वी सिरियाको दुई अड्डामा हमला गरेको छ । इरानी सैन्यवल र त्यससंग सम्बन्धित समूहले प्रयोग गरिरहेको अड्डामा हमला गरेको अमेरिकाले दावी गरेको छ ।

एक विज्ञप्तिमार्फत अमेरिकाका रक्षामन्त्री लयड जे अस्टिनले इराक र सिरियामा अमेरिकी सेनाको सुरक्षाका लागि “आत्मरक्षामा स्ट्राइक” गरेको बताएका छन् । उनले ईरानी समर्थित मिलिसिया समूहले गरेको हमलाको प्रतिकारमा सो हमला गरेको दावी गरे ।

उनले भने,‘ अमेरिकी सेनामाथि ईरानी समर्थित हमला बर्दास्त गर्न सकिदैन, त्यसैले रोक्न खोजेको हो । ईरान ती हमलाको पछि रहेको कुरा लुकाउन खोज्दैछ । हाम्रा सेनाको विरुद्धमा भइरहेको ती हमलामा इरानले आफ्नो भूमिकालाई इन्कार गर्न खोजिरहेको छ । हामी त्यस्तो हुन दिदैनौं । ’

अस्टिनले अमेरिकी हमला इजरायल र हमासबीच चलिरहेको संघर्षभन्दा अलग भएको बताए । यसअघि व्हाइट हाउसको नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले प्रेस ब्रिफिङमा अमेरिकी राष्ट्रपति जो बाइडेनले ईरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईलाई मध्यपूर्वमा अमेरिकी सैनिकलाई निशाना नबनाउन चेतावनीसहितको सीधा सन्देश पठाएको जानकारी दिएका थिए । पेन्टागनका अनुसार गत एक सातामा इराकमा अमेरिकी सैनिकमाथि कम्तीमा १२ पटक र सिरियामा चार पटक हमला भएको छ । त्यसमा २१ अमेरिकी सैनिक घाइते भएको जनाइएको छ ।

उता इजराइली सेनाले हमलाका योजनाकार हमास कमान्डर कार्वाहीमा मारिएको दावी गरेको छ । गत ७ अक्टुबरमा हमलाको योजना बनाउने हमास कमान्डर कार्वाहीमा मारिएको इजरायली सेनाले दावी गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्