झापा, कात्तिक १० । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका –६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ ।

एकै परिवारका २८ वर्षीया श्रीदेवी बोहोरा, ७ महिने छोरा रहर, ८ वर्षीया छोरी छिता र ११ वर्षीय छोरा मनोजको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।

घरभित्र हत्या गरिएको अवस्थामा चारैजनाको शव देखेपछि शुक्रबार बिहान ९ बजेतिर छिमेकीले प्रहरीलाई खबर गरेका थिए। अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या गरेको प्रहरीले जनाएको छ।
हत्या भएको खबर पाउनेबित्तिकै पिना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार घटना दुई दिन अगाडि भएको हुनसक्ने अनुमान गरिएको छ। कात्तिक ८ गते बिहानदेखि सो घरमा ताला लगाएको थियो। लामो समयसम्म घरको ताला नखोलेपछि छिमेकीले शुक्रबार बिहान ९ बजेतिर ढोका खोलेर हेर्दा चारैजनाको वीभत्स रुपले हत्या गरिएको देखेका थिए।
हत्या गरिएकी महिलाले लगाएको गहनासमेत चोरी भएको प्रहरीले बताएको छ। गहना निकालिएकाले धनमाल समेत चोरी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

ती महिलाका श्रीमान् एक वर्षदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको छायाँनाथ रारा नगरपालिका– ६ का वडा अध्यक्ष खेम रावलले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्